Skip to content
Shikhar Insurance
National Life

पाँच लाख विद्यार्थी एसईई परिक्षामा, गणतन्त्रवादी र राजावादी भिडन्तको तयारीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । यस बर्षको एसईई परिक्षा चैत ७ गते सुरु भएर चैत १९ गते सकिँदैछ । परिक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थीहरु सहभागी छन् । देशको सुन्दर भविष्य कोर्ने स साना विद्यार्थीहरु एसइई परिक्षामा सामेल भैरहँदा गणतन्त्रवादी र राजावादीले भने सडकमा भिडन्तको तयारी थालेका छन् ।

गणतन्त्र पक्षधर समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रका पक्षमा राजधानीमा प्रदर्शन गर्ने घोषणा गरेको छ भने राजावदीहरुका तर्फबाट दुर्गा प्रसाई नेतृत्वको समुहले पनि सोही दिन प्रदर्शनको तयारी गरेका छन् । समाजवादी मोर्चाले भृकुटीमण्डपमा प्रदर्शन गर्ने घोषणा गरेका छन् भने

प्रसाईले देश र राजा जोगाउन भन्दै तिनकुनेमा प्रदर्शन गर्ने घोषणा गरि त्यसमा सहभागी हुन अपिल गरिसकेका छन् । त्यसो त एमाले निकट युवा संघले चैत १३ गते नै तिनकुनेमा स्वयं सेवक भेला आयोजना गरेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले तीन दिन भित्र आफ्ना कर्मचारीहरुले तलब नपाए सबलाई टुकुचामा गाड्दिन्छु भनिसकेका छन् । अर्थात यतिबेला देश भिडन्तको मुडमा पुगेको छ र त्यसको आरम्भ चैत १५ गते काठमाडौंबाटै हुने संकेतहरु देखा परिसकेका छन् ।

अब यहाँ भाइरल गायक दुर्गेश थापाको प्रशंक महत्त्वपूर्ण हुन आउँछ । यतिबेला मेला महोत्सवहरुमा सर्वाधिक रुचाईएका गायकमा पर्छन दुर्गेश । उनले एसईई परिक्षा सुरु हुनु भन्दा अघि नै घोषणा गरिदिए की एसईई नसकिएसम्म मेला महोत्सव र कन्सर्टहरुमा भाग लिन्न ।

मनोरञ्जन क्षेत्रका एक जना गायकले एसईईको सम्वेदनशिलता बुझेर मेला महोत्सवमा गीत गाउँदिन भन्ने घोषणा गरे । तर सिंगै देश बनाउने ठेक्का लिएका गणतन्त्रवादी र देश जोगाउन ठेक्का लिन खोजि रहेका राजावादीहरुले भने एसईईको महत्त्व बुझ्न सकेको देखिएन् ।

२०६२।६३ को जन आन्दोलन पनि त्यतिबेलाको एसएलसी सकिएको भोलिपल्टबाट मात्रै सुरु भएको थियो । अर्थात २०६२ साल चैत २३ गते एसएलसीको प्रयोगात्मक लगायतका सबै परिक्षा सकिएको थियो र त्यसको भोलीपल्ट अर्थात चैत २४ गतेबाट लोकतन्त्र प्राप्तिको निर्णायक आन्दोलन आरम्भ भएको थियो ।

अहिले भने व्यवस्था जोगाउने र व्यवस्था फाल्ने दुबै पक्षले पाँच लाख भन्दा बढी विद्यार्थी आफ्नो भविष्य जोडिएको एसईई परिक्षामा सहभागी हुँदा नै सडकमा भिडन्त निम्त्याउँदैछन् ।

त्यति मात्रै नभएर जनमुक्ति सेना नेपाल नामक संगठनले विज्ञप्ति प्रकाशित गरेर चैत १५ गते उपत्यका बन्द र १६ गते नेपाल बन्दको घोषणा गरेको छ ।

अब भाइरल गायक दुर्गेश थापाको जिम्मेवारपूर्ण स्टेटेमन्ट हेरौं, ‘परीक्षा हाम्रो जीवनको महत्त्वपूर्ण घडि हो । केवल मनोरञ्जनमा मात्र होईन उज्ज्वल भविष्यका लागि पनि म सधैं हजुरहरुकै साथमा हुनेछु । यतिबेला मलाई धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमका लागि कल आईरहेको छ तर यदि म कार्यक्रम गर्दै हिंडें भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ । यि कुराहरुलाई मध्यनजर गर्दै, एसईई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु । साथै एसईई अवधिभर सञ्चालनहुने कार्यक्रमको लागी मलाई सम्पर्क नगरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दै यसबाट आयोजकलाई पर्न गएको असुविधा प्रति क्षमा चाहान्छु ।’

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एसईई परिक्षाभर आन्दोलन नगर्न पार्टीले आग्रह गर्ने बताए । उनले सिंहदरबारसँग भने, ँयो एकदमै महत्त्वपुर्ण विषय हो, यो विषयमा हामी सदनमा पनि प्रश्न उठाउँछौं, अन्य पार्टीहरुलाई पनि आग्रह गर्छौं ।”

एसईई परिक्षा सकिएपछि मात्रै शान्तिपुर्ण आन्दोनको घोषणा गर्न नेकपा एकिकृत समाजवादी पार्टी निकट विध्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठले आग्रह गरेका छन् । विद्यलय शान्ति क्षेत्र भएको कारण भयरहित वातावरणमा परिक्षा दिन पाउने विद्यार्थीको नैसर्गिक अधिकार भएको अध्यक्ष श्रेष्ठको भनाई छ । अध्यक्ष श्रेष्ठले भने, ँचैत ७ गतेबाट सुरु हुने एसईई परिक्षा चैत १९ गतेसम्म चल्छ परिक्षा नै प्रभावित हुनेगरी आन्दोलनको घोषणा गर्नु गलत हो, यसले विद्यार्थीको मनोविज्ञानमा गम्भिर असर पार्नेछ, २०६२र०६३ को जनआन्दोलन पनि तत्कालिन एसएलसी परिक्षा सकिएपछि घोषणा थियो, यस विषयलाई गम्भिर रुपमा सोच्न म सबै समक्ष आग्रह गर्छु ।”

शिक्षा विद विद्यानाथ कोइरालाले राजनितिक आन्दोलनले विद्यार्थीहरुको पढाइलाई असर गर्न नहुने बताउँछन् । उनले सिंहदरबारसँग भने, “केटाकेटीलाई अप्ठ्यारो पार्नेगरी नजुध्लान् भन्ने हो । ११ बजे परिक्षा सकिन्छ । यसपछि आन्दोलन सुरु होला कम्तिमा राजनितिक दलहरु एक ठाउँमा बसेर सोचिदिउन भन्ने हो । केटाकेटीको परिक्षालाई असर नगर्नेगरी १९ गते भन्दा पछि सुरु गरिदिए राम्रो हुने हो ।”

GBIME

प्रतिक्रिया दिनुहोस्