Skip to content
Shikhar Insurance
National Life

मकैमा फौजी कीराको समस्या, विषादी अभाव

Hyundai
NCELL
NIMB

बैतडी । यहाँको प्रमुख खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी कीराकोे समस्या देखिएपछि किसान चिन्तित भएका छन् । कृषि ज्ञान केन्द्रका प्रमुख हरिदत्त जोशीका अनुसार दोगडाकेदार र शिवनाथ गाउँपालिकामा फौजी कीराले मकैबाली नष्ट गर्न थालेको हो ।

उनले मकै बालीमा कीराको समस्या देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको बताए । केन्द्रले यसअघि नै इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ । हाल भने कृषि ज्ञान केन्द्रमा पनि उक्त विषादी अभाव छ ।

कीराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार –७ का दीपेन्द्र कार्कीले बताए । उनले भने ‘फौजी कीराले मकैबाली सखाप पारेको छ । उत्पादनमै कमी हुने देखिन्छ ।’ लामो समयसम्मको खडेरीका कारण फौजी कीरा बढी सक्रिय भएको हो । दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख सुरेश भट्टले बताए ।

उनले भने ‘फौजी कीरा देखिएका स्थानका किसानलाई हामीले विषादी छर्किन सुझाव दिएका छौँ ।’ मकैको पकेट क्षेत्रमा नै कीराले नोक्सान गरेको छ । पाँच वर्षयता हरेक वर्ष फौजी कीराको समस्या देखिने गरेको छ । बैतडीमा १३ हजार हेक्टर क्षेत्रमा मकैखेती गरिँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्