काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्यमान आर्थिक संकटको मुल कारण नै घरजग्गा कारोबार भएको बताएका छन् । त्रिविवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै मन्त्री डा. महतले भने–‘अनुत्पादक क्षेत्रमा लगानी, कोभिडका बेला अत्याधिक पूँजी प्रवाह भयो, प्रतिफल आएन । घरजग्गा व्यवसायमा पनि एकदमै पूँजी प्रवाह भयो, त्यसले पनि केही समस्या पर्यो । सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको छ ।’
उनले अब भने अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको दावी गरे । ‘अहिले रेमिटेन्स वृद्धि भइरहेको छ । पर्यटन व्यवसायमा उत्साह छाएको छ । यसले अर्थतन्त्रको गतिलाई वृद्धि गर्छ । त्यसकारण निराश हुनुपर्ने अवस्था छैन । अब आत्मविश्वास जगाउनुपर्ने आवश्यकता छ । यसका लागि नागरिक समाज, सरकार, निजी क्षेत्र र सबैले खर्च गर्न डराउनुपर्दैन’ मन्त्री डा. महतले भने ।
उनले लगानीको प्रतिफल आउँदैन की भनेर चिन्ता गर्नै नपर्ने दावी पनि गरे । ‘भोलीको दिनलाई सम्झेर मानिसहरु खर्च गर्न डराएको स्थिति थियो, अहिले त्यस्तो छैन । प्रतिफल आउँदैन कि भनेर लगानीकर्ताहरु डराएको स्थिति थियो । आम मानिसमा आत्मविश्वास नभएपछि रोजगारीमा असर पर्यो, आयमा असर पर्ने भयो, त्यस्तै राजश्वमा असर पर्ने भयो ।’
उनले सरकारमाथि आर्थिक दायित्व भने झनै बढ्दै गएको बताए ।
‘पुनर्निर्माणको ऋण तिर्ने बेला भएको छ, कर्मचारीको तलबभत्तासँग सँगै सामाजिक सुरक्षाभत्तामा हामी ठूलो रकम खर्च गर्छौ । यो तीनवटा शीर्षकमा छुटाइएको रकमले गर्दा पूँजीगत खर्च कम विनियोजन गर्नुपरेको छ । जसले गर्दा हामीले धेरै खर्च गर्न सकेका छैनौं’ मन्त्री डा. महतले भने ।
उनले आफु कठिन समयमा अर्थमन्त्री बनेर अर्थतन्त्र सुधारका लागि प्रयासरत रहेको पनि दावी गरे । ‘म धेरै अप्ठ्यारो समयमा अर्थमन्त्री बनेको हुँ, कोभिडको प्रभावले आर्थिक गतिविधिमा शिथिलता आएको थियो । मानिसहरुमा निराशा थियो । तर, अहिले विस्तारै गति लिँदैछ’, मन्त्री डा. महतले भने ।
प्रतिक्रिया दिनुहोस्