चितवन । होटल, रेष्टुराँ, पार्टी प्यालेसका सञ्चालक र त्यहाँका कार्यकारी प्रमुखलाई धेरैले चिन्दछन् तर त्यही भान्साघर (किचन) लाई व्यवस्थित गरेर संस्थालाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सेफहरुलाई भने कमैले मात्र चिन्दछन् ।
यस्तै भूमिकामा रहेका बुटवलको देवीनगरका एलबी कौशलले सिद्धार्थ हस्पिटालिटी एण्ड विजनेश ग्रुपका ३२ वटा किचन सम्हाल्दै आएका छन्। उनकै नेतृत्वमा यो समूहका होटल, रेष्टुराँ, पार्टी भेनु र कलेज सञ्चालन हुँदै आएका छन् । विगत पाँच वर्षदेखि कौशलले यो समूहको नेतृत्व गर्दै आएका हुन् ।
होटल म्यानेजमेन्टको अध्ययनसँगै सन् २००० देखि उनले यो यात्रा सुरु गरेका हुन्। एकचालिस वर्षीय कौशलले धेरै पाँचतारे होटलमा काम गरिसकेका छन्। सोही अनुभवका कारण उनले अहिले एक हजारभन्दा बढी किचनको नेतृत्व गरेर सिद्धार्थ ग्रुपको भान्सालाई अघिबढाउनु भएको छ । भारतको नयाँदिल्लीमा बिएचएम उत्तीर्ण गरेसँगै कौशलले भारतकै भूपालमा रहेका पाँचतारे होटलमा काम सुरु गरेका थिए।
ट्रेनिङ सेसनदेखि नै काम सुरु गरेका उनी कमी थर्ड, कमी सेकेण्ड, कमी फस्ट हुँदै अहिले कर्पोरेट सेफ बनेका हुन्। कौशलले होटल सूर्या, ताज होटल, अन्तर्राष्ट्रिय ग्रुप आइजी, चेन ग्रुप सिग्नेटलगायत होटलमा कामगरिसकेका छन्। यससँगै उनी नेपालका होटल म्यानेजमेन्ट कलेजहरुसँग पनि जोडिएका छन् ।
गेट कलेज काठमाडौं, सिल्भर माउण्टेन कलेज, नाथेम कलेज, त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालयलगायतमा गेष्ट लेक्चर र प्रयोगात्मक इन्स्ट्रक्टरका रूपमा कौशलले काम गर्दै आएका छन्। सन् २०१९ को मास्टरसेफ प्रतियोगिताको निर्णायक समेत उनी थिए। सिद्धार्थ ग्रुपमा कौशल छिर्दै गर्दा १३ वटा शाखा थिए । अहिले यो शाखा ३२ पुगेको छ ।
सिद्धार्थ ग्रुपमा रेष्टुरेन्टदेखि पाँचतारे होटलसम्म छन् । उनले भने, “हरेक शाखामा कार्यकारी सेफ राख्छौँ । उनीहरुले मलाई रिपोर्टिङ गर्छन् । खानाका परिकार मबाट फलो गरेर तयार गर्छन् ।” दैनिक अनलाइन बैठक गरेर छलफल गर्ने र आइपरेका समस्या पहिचान गरी समाधान गर्ने गरेको उनको भनाइ थियो ।
कौशलले थपे, “खानाको गुणस्तरमा सम्झौता गर्दैनौ । फुडलाई सेफ्टी र हाईजेनिक बनाउनाका साथै केयर पनि गर्छौँ ।” खानाबाटै ९५ प्रतिशत रोग लाग्ने भएकाले उनले त्यसमा कुनै पनि हेलचक्र्याई नगरी खाद्य सुरक्षालाई ख्याल गर्ने गरिएको बताए। कौशलले थपे “स्वस्थकर खाना दिन्छौँं । प्राङ्गारिक खानामा हामी विश्वास गर्छौं ।”
आफूहरुले मसलामा पनि विशेष ध्यान दिन गुणस्तरीय ब्राण्डका मात्रै मसला प्रयोग गर्ने गरेको कौशलले बताए। उनले भने,“जिरा, धनियाँ, गरममसला, कबाब मसला आफैँ बनाउँछौँ । रङग प्रयोग गर्दैनौंँ । हामीले तयार गरेको खानामा प्राकृतिक रङ्ग हुन्छ।” व्यवस्थापनले पनि गुणस्तरमा कुनै सम्झौना नगर्न आफूहरुलाई भनेकै कारण उच्चस्तरको खाना तयार गर्न सकिएको कौशलले बताए।
काठमाडौंको कोटेश्वरमा रहेको सिद्धार्थ हस्पिटालिटी इन्स्टिच्यूटबाट तालिम लिएर आउनेलाई मात्रै काममा लगाउने गरेको उनले बताए। पेसागत हिसाबले यो क्षेत्र महत्वपूर्ण रहेकाले आफ्नो ग्रुपभित्र काम गर्ने सेफले मासिक रु तीन लाखसम्म पारिश्रमिक पाउने गरेको उनले जानकारी दिए। बजारमा खोजेजस्तो जनशक्ति पाउन नसकिएको अवस्थामा यही बसेर मेहनत गर्न सक्यौंँ भने राम्रै कमाउन सकिने कौशलले बताए।
प्रतिक्रिया दिनुहोस्