काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सिङ्गो बिमा व्यवसायको विकास एवम् विस्तारका लागि प्राधिकरणले सहयोगीका रूपमा भूमिका निर्वाह गर्दै आएको बताएका छन् ।
नेपाल बिमा प्राधिकरणद्वारा विजया दशमी, शुभ दीपावली तथा छठ पर्व, २०८० को शुभ उपलक्ष्यमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बिमा बजारलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।
अध्यक्ष सिलवालले भने, “प्राधिकरण र बिमकहरू एकअर्काका परिपूरक भएकाले सोहीअनुसार क्रियाकलापहरू अगाडि बढाउनुप¥यो, बिमकहरूले बजारमा देखिएको अविश्वास हटाउनुपर्यो, प्रदेश तथा शाखा कार्यालयलाई अधिकार प्रत्यायोजन गर्नुपर्यो, बिमासम्बन्धी अन्तर्राष्ट्रिय मान्यतामा रहेर बिमालेखका प्रावधानहरूलाई सामान्यीकरण गर्नुपर्यो, बैधरूपमा मुनाफा हुने बाटो खोज्नुपर्यो, बिमा बजारमा सकारात्मक परिवर्तन आउने गरी अघि बढ्नुपर्यो ।”
अध्यक्ष सिलवालले बिमकहरूले पनि सरकारलाई बिमाका बारेमा बुझाउन र वार्षिक बजेटमा बिमा शीर्षकमा सशर्त बजेट विनियोजन गर्न पहल गर्नुपर्ने उल्लेख गर्दै त्यसो भएमा न्यून आय भएका बर्गको बिमा हुनुका साथै गरिवी न्यूनीकरणमा समेत टेवा पुग्ने बताए ।
नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बिमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्दै सिङ्गो बिमा व्यवसायलाई स्वच्छ एवम् मर्यादित रूपमा अगाडि बढाउनुपर्ने बताए ।
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशकहरू, जीवन बिमक संघ नेपाल तथा नेपाल बिमक संघका पदाधिकारीहरू र जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी, लघुबिमा कम्पनी तथा पुनर्बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्