काठमाडौं । नेपाल वायु सेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋणको किस्ताबापतको ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ता असोज ३० गते मंगलबार तिरेको निगमले जनाएको छ।
यस अघि निगमले २०७९ असारदेखि २०८० असारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।
निगमको व्यस्थापन वर्तमान नेतृतवले सम्हालेपश्चात निगमको व्यापार विस्तार तथा आम्दानी विगत वर्षमा भन्दा सुधार हुँदै गएको छ । नगद प्रवाहमा सुधार भएपश्चात प्रमुख इन्जिन मर्मत खर्च नियमित तथा आकास्मिक रुपमा हुने जहाज मर्मत सम्भार खर्चसमेत बेहोरी विभिन्न निकायहरुमा रहेका पुराना बक्यौता रकमसमेत आफ्नै स्रोतबाट भुक्तानी गरी नियमित गरिएको निगमले जनाएको छ ।
यसका अतिरिक्त तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै दुर्गम क्षेत्रमा उडान भर्ने ३ वटा साना जहाज आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार प्रक्रिया पूरा गरी निर्माता कम्पनीसँग खरिद गर्ने कार्य योजनासमेत अन्तिम चरणमा पुगेको निगमले विज्ञप्तिमार्फत बताएको छ ।
निगमले नयाँ तीनवटा जहाज खरिद गरेपछि नेपालका दुर्गम क्षेत्रमा अझै धेरै यात्रुहरुलाई सेवा दिन सकिने, पर्यटन प्रबर्द्धन हुने, निगमको उपस्थितिले भाडादरमा सन्तुलन कायम हुने र निगमको सेवा प्रभावकारी हुने विश्वास निगमले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्