काठमाडौं । विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन् । हालसम्म १७ वटा विकास बैंकले पहिलो दुई महिनाको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।
पहिलो दुई महिनामा १३ वटा विकास बैंकले १ अर्ब ३५ करोड ११ लाख नाफा कमाउन सफल भएका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार १३ वटा विकास बैंकले १ अर्ब ३५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन् भने सोही अवधीमा ४ वटा विकास बैंक भने घाटामा गएका छन् ।
१७ वटा बैंकको सार्वजनिक तथ्यांकअनुसार सर्वाधिक नाफा कमाउनेको शीर्ष स्थानमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३१ करोड २८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै, सबैभन्दा कम नाफा कमाउनेमा सालपा विकास बैंक रहेको छ । आर्थिक वर्षको पहिलो दुई महिनामा सालपा विकास बैंकले सबैभन्दा कम ४० लाख रुपैयाँ मात्र नाफा कमाएको हो ।
त्यसैगरी, सर्वाधिक नाफा कमाउनेको दोस्रो स्थानमा गरिमा विकास बैंक रहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गरिमा विकास बैंकले दुई महिनामा १६ करोड ५५ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । चालु आवको पहिलो दुई महिनामा नाफा आर्जन गर्ने तेस्रो स्थानमा लुम्बिनी विकास बैंक रहेको छ । बैंकले दुई महिनाको अवधिमा १५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
त्यस्तै, कामना सेवा विकास बैंकले १३ करोड ९१ लाख रुपैयाँ नाफा कमाएर चौथो स्थान सुरक्षित गरेको छ । सांग्रिला विकास बैंकले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १२ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरी पाँचौं स्थानमा रहेको छ ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकले ११ करोड ७१ लाख रुपैयाँ नाफा कमाई छैटौं स्थानमा रहँदा महालक्ष्मी विकास बैंकले ११ करोड ४५ लाख आर्जन गरी शाइन रेसुंगा बैंकलाई पछ्याइरहेको छ। त्यस्तै, ज्योति विकास बैंकले १० करोड ९४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
कर्णाली विकास बैंकले दुई महिनामा ४ करोड ६८ लाख नाफा कमाएको छ । त्यसैगरी, सिन्धु विकास बैंकले २ करोड ७४ लाख रुपैयाँ नाफा आर्जन गर्दा कर्पाेरेट डेभलपमेन्ट बैंकले २ करोड ६६ लाख रुपैयाँ आर्जन गरी सिन्धु विकास बैंकको पछि लागेको छ।
त्यस्तै, चालु आर्थिक वर्षको पहिलो २ महिनामा ग्रीन डेभलपमेन्ट बैंकले १ करोड ३ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।
त्यसैगरी, सोही अवधीमा घाटामा गएका एक्सेल, सप्तकोसी, नारायणी र मितेरी बैंक हुन् । सबैभन्दा धेरै घाटा एक्सेल डेभलपमेन्ट बैंकको रहेको छ । दुई महिनामा एक्सेलको खुद घाटा १७ करोड ५० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, सप्तकोसी, नारायणी र मितेरीको खुद घाटा क्रमशः १ करोड ६७ लाख, ७६ लाख र ६४ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्