काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को आन्तरिक टर्मिनलको अनुगमन गरेका छन्। चाडपर्वमा भिडभाड हुने विमानस्थलमा यात्रुले बेहोर्नुपरेको समस्या बुझ्न मन्त्री विमानस्थल पुगेका उनको निजी सचिवालयले जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हवाई टिकट महँगो भएको र विमानस्थलका पसलका व्यापारीले महँगो सामान बेचेको गुनासोका सन्दर्भमा मन्त्री किरातीले अनुगमन गरेका हुन्।
त्यसैगरी मन्त्री किरातीले दसैँ, तिहार, छठलगायत चाडपर्वमा विगतका वर्ष झैँ यस वर्ष पनि हवाई भाडा महँगो भएको यात्रुको गुनासो आएपछि आज एयरलाइन्सका प्रतिनिधिसँग छलफल गरेका छन्।
मन्त्रालयमा भएको छलफलमा हवाई भाडा घटाउन व्यवसायी सहमत भएको मन्त्रालयले जनाएको छ । महँगो वर्गको टिकट सङ्ख्या बिक्रीको प्रतिशत कम गरी कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने र काठमाडौं बाहिरबाट फर्कने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै जाने सहमति भएको जनाइएको छ ।
विमानस्थलका पसलका व्यापारीले महँगोमा सामान बेचेको यात्रुको गुनासो गरेका थिए । मन्त्री किरातीले सामानमा एमआरपी मूल्य कायम गर्न आग्रह गरेका थिए। उनले म आफू अर्को पटक आउँदा यस्तै गुनासो आए कारबाही गर्ने चेतावनी दिए।
प्रतिक्रिया दिनुहोस्