काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्याजदर घटाउने विषय आफ्नो नियन्त्रणमा नरहेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले भन्ने वित्तीय ब्याजदर घट्ने अवस्था नरहेको स्वीकार गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका समस्या समाधानका लागि प्रधानमन्त्री कै नेतृत्वमा सरोकारवाला सबैको सहभागिता रहने शक्तिशाली आयोग बनाउने जानकारी पनि दिए ।
‘बैंक ब्याजदर घटाउने विषय मैले भन्ने बित्तिकै हुने अवस्था छैन । अब रेडिकल रिफर्म गर्ने हो । अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाउछौं । त्यस्तो आयोगको नेतृत्व म आफैं गर्छ, त्यसले कानुनी आधार पनि पाउँछ र कार्यान्वयनमा पनि जान्छ ।’ प्रधानमन्त्री प्रचण्डले भने । अर्थतन्त्र सुधारको आफ्नो प्रयासमा निजि क्षेत्रले सहयोग गरिरहेको र अब सरकारले बाेल्ड डिसिजन गर्ने पनि घोषणा गरे ।
‘निजी क्षेत्रले प्रधानमन्त्रीलाई सजिलो गरिरहेको छ । पुरातन उपायबाट संकटको समाधान सम्भव छैन, अब गतिलो सुधार गर्नुपर्ने छ । अर्थतन्त्रको मूल समस्या समाधान भएको छैन । हामी ठूलो सुधारको तयारी गर्दै छौं । अर्थतन्त्र सुधारका लागि बोल्ड डिसिजन गर्दैछौं ।’
पछिल्लो समय नाफा कमाउनेहरुलाई गाली गर्ने क्रम बढेको बताउदै उनले अब सरकारले नै नाफा कमाउन प्रोत्साहन गर्ने बताए। ‘नाफाको निम्ति राज्यले प्रोत्साहित नगर्ने हो भने निजी क्षेत्रले कसरी लगानी वृद्धि गर्छ ? नाफाका लागि हामीले सहजीकरण गर्नुपर्छ ,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस्