काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सरकारको प्राथमिकता उद्योग क्षेत्रमा पर्न नसकेको जिकिर गरेकी छिन्। बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र नेपाल हस्तकला महासंघले आज काठमाडौंमा आयोजना गरेको ‘प्राकृतिक रेशामा प्रविधिको भूमिका’ विषयक कार्यक्रममा उनले सरकारको प्राथमिकतामा कहिल्यै पनि उद्योग क्षेत्र पर्न नपरेको दाबी गरिन्।
“सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको भए नेपालमा रहेका धेरै उद्योग डुब्ने थिएनन्, अहिले पनि उद्योग क्षेत्र सरकारको प्राथमिकतामा परेको छैन”, उनले भनिन्।
उनले आफू उद्योगमन्त्री भएकाले बेला उद्योग नीति परिमार्जन गरेको स्मरण गर्दै उद्योग क्षेत्रको विकासबिना मुलुकको विकास सम्भव नभएको बताइन् । उनले नेपालमा प्राकृतिक रेशाजन्य पदार्थ थुप्रै भए पनि तिनीहरुलाई भरपुर प्रयोग गर्न नसकेको उल्लेख गरिन् ।
विज्ञ व्यक्ति, अनुसन्धानकर्ता र नेपाल हस्तकला महासङ्घ मिलेर प्राकृतिक रेशाजन्य पदार्थको अध्ययन, अनुसन्धान, उत्पादन र बजारीकरणमा लाग्नुपर्ने उनको भनाइ थियो । उनले उद्योगको विकासका लागि प्रविधिको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरिन्।
हस्तकला महासंघ उद्योगी व्यवसायीकोे अभिभावक संस्था बनेर अगाडि बढ्नुपर्ने उपाध्यक्ष शाक्यको भनाइ थियो । उनले राजनीतिक उतारचढावका कारण मुलुकको अर्थतन्त्र र उद्योग क्षेत्रमा समस्या आएको बताइन्।
व्यापार तथा निकासी प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक शरदविक्रम राणाले विश्वका अन्य मुलुकमा नभएका प्राकृतिक रेशाजन्य पदार्थ नेपालमा भएकाले यसलाई भरपुर उपयोग गर्नुपर्ने बताइन्।
“मुलुक समृद्ध बन्नका लागि हामीसँग भएका वस्तुलाई उत्पादन गरेर विदेशी बजारसम्म लैजानुपर्छ”, उनले भनिन्। कार्यकारी निर्देशक राणाले नेपालमा भएका हस्तकला उद्योगले महिलाको सहभागितालाई समेत बढाउँदै लगेको बताए।
नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले नेपालमा विदेशी मुद्राआर्जन गर्ने महत्वपूर्ण माध्यम हस्तकला भएकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शनम शाक्य, उद्योग उपाध्यक्ष दिव्यतारा तुलाधर, उपाध्यक्ष दीपेन्द्र शाक्यलगायतले नेपालमा उत्पादित परम्परागत हस्तकलालाई नयाँ प्रविधिसँग जोड्न सकेमात्र हस्तकला क्षेत्रको हुने बताएका थिए। कार्यक्रममा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक डा राजेन्द्र सिंहले प्राकृतिक रेशाको आयत तथा निर्यातको अवस्था, इञ्जिनियर प्रकाश झाले प्राकृतिक रेशाको हालको अवस्था, समस्या र प्रविधिको भूमिका र वरिष्ठ उद्यमी श्यामबन्दन श्रेष्ठले प्राकृतिक रेशाका विभिन्न वस्तु र उत्पादन डिजाइनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्