Shikhar Insurance
National Life

सोलार सेट पाएपछि दलगाउँका तीन परिवार खुसी

सिंहदरबार संवाददाता
२०८० आश्विन १९, शुक्रबार १४:०८
Hyundai
NCELL
NIMB
टक्सार । विद्युतकाे पहुँचबाट टाढा रहेको दलगाउँका तीन परिवारलाई गाउँपालिकाले सोलार सेट उपलब्ध गराएपछि खुसी भएका छन् । भोजपुरको रामप्रसाद राई गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका वडा नम्बर ४, दलगाउँका तीन परिवारलाई सोलार सेट सहयोग गरेको हो ।
पालिकाका अध्यक्षबाट सोलार सेट बुझेपछि मीनराज राईले भने, “सबैतिर बत्ती पुगे पनि हामी अँध्यारोमा बस्न बाध्य थियौँ । पालिकाको सहयोगले आफूहरुलाई राहत मिलेको छ । हामी खुसी भयौं ।”
विद्युतकाे सेवाबाट वञ्चित दलगाउँका राईसहित मनकुमारी राई र बखतबहादुर राईलाई पालिकाका अध्यक्ष थामबहादुर राईले सोलार सेट हस्तान्तरण गर्दै पालिकाभित्रका कोही पनि नागरिक विद्युत् सेवाबाट वञ्चित हुन नपरोस् भन्नका लागि सहयोग गरिएको बताए। “विद्युत् सेवाका लागि दूरी टाढा र आर्थिक अवस्थासमेत कमजोर भएकाले तीन परिवारलाई सहयोग गरेका हौँ”, उनले भने ।
विद्युत् नहुँदा अन्धकारका बस्न बाध्य परिवारलाई पालिकाले सहयोग गरेपछि सबै क्षेत्रमा विद्युत् विस्तार भएको वडाध्यक्ष बाबुकुमार राईले बताए । उनका अनुसार विद्युत् प्राधिकरणबाट सबै क्षेत्रमा विद्युत् विस्तार भए पनि दूरी तथा आर्थिक अवस्था कमजोर भएकाले तीन परिवारको घरमा सेवा पुगेको थिएन ।
चाडपर्व नजिकिएसँगै गाउँपालिकाले वडा तहमा पुगेर ज्येष्ठ, अपाङ्गता भएका तथा अशक्त नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । पालिकाले एनआइसी एसिया बैंकको समन्वयमा दलगाउँका एक सय ५४ लाभग्राहीलाई स्वास्थ्य परीक्षण गरी भत्ता उपलब्ध गराइएको पालिकाका अध्यक्ष राईले जानकारी दिए । पालिकाले आगामी २५ गतेसम्म सबै वडामा पुगेर भत्ता वितरण सम्पन्न गर्ने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्