काठमाडौं । नेपाली जुत्ता चप्पल उत्पादक समूहद्वारा “नेपाली उत्पादनको प्रवर्द्धन हाम्रो अभियान” भन्ने मुख्य नारासहित जावलाखेल जुत्ता चप्पल दशैं महोत्सव २०८० जावलाखेल फुटबल मैदानमा उद्घाटन गरिएको छ ।
स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवको बुधबार ललितपुर महानगरपालिकाको उपप्रमुख मन्दिरा शाक्यले उद्घाटन गरे । नेपाललाई आत्मनिर्भर बनाउनका लागि तथा स्वदेशी उद्योगको प्रवर्द्धन गर्नका लागि महानगरको साथ र सहयोग सदैव रहने बताए । साथै नेपाली उत्पादनहरू प्रयोग गर्नका लागि पनि सबैलाई आग्रह गरे ।
यसैगरी उक्त उद्घाटन समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपाल जुत्ता चप्पल उत्पादन संघका अध्यक्ष नानिराज घिमिरेले नेपालमा जुत्ता चप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरूको समूहद्वारा स्वदेशी ब्रान्डहरूलाई आम उपभोक्ताहरूका बीचमा पुर्याउने र आम उपभोक्ताहरूलाई स्वदेशी वस्तु नै प्रयोग गर्ने भावनाको विकास गराई स्वदेशी उत्पादन प्रयोगका निमित्त उपभोक्ताहरूको रुचि जगाउने उद्देश्यका साथ देशका प्रमुख सहरहरूमा विभिन्न
खालका मेला महोत्सवहरू आयोजना गर्दै आइरहेको जानकारी गराए ।
जावलाखेल जुत्ता चप्पल दसैं महोत्सव असोज १० गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुँदैछ । बिहान ९.०० बजेदेखि बेलुकी ७.०० बजेसम्म खुल्ला रहने महोत्सवमा न्यूनतम २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवमा नेपालका चर्चित जुत्ता चप्पल उत्पादक कम्पनी र ब्रान्डहरू रोयल सु इण्डष्ट्रिजको उत्पादन– रोयल सज, वेश फुटवेयरको उत्पादन– बीएफ डियर हिल र विएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको– क्रस रोड सुज, शुभकामना फुटवेयरको– फस्टवाक सुज, नमस्ते फुटवेयरको– सिल्स, आर.डि.कलेक्सनको– हाई लाइफ, केटिएम सजको–केटिएम, डि.जे. सुज कम्पनीको– डिजे सुज, फुड फेसनको– वेली सुज, सर अनिल टे्ड लिंक्सको– उत्सव र कोसेली छाला जुत्ता उद्योगको– कोसेली सुज गरी ११ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता छ ।
यस महोत्सवमा ग्राहकले नयाँ ब्रान्ड तथा डिजाइनका ३ हजार बढी मोडलका जुत्ता चप्पलहरू आकर्षक छुटका साथ शुपथ मूल्यमा खरिद गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्