काठमाडौं । झुठो विवरण बुझाउने १९ बीमा कम्पनीहरुलाई नगद २।२ लाख रुपैयाँ जरिवाना तिराउने फाइल तयार भएको छ । आगामी सञ्चालक समितिको बैठकमा पेश गरेर ती बीमा कम्पनीहरुलाई २/२ लाख नगद जरिवाना तिराउने तयारी भएको हो ।
असार मसान्तमा अनलाइन प्रणाली आईआरएमआईएसमा इन्ट्री गरेको विवरण र साउन १ गतेको स्थलगत निरिक्षणका क्रममा प्राप्त विवरणबीच भारी फरक देखिएपछि प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको थियो । त्यसरी खाता बन्दी र स्थलगत निरीक्षणका क्रममा फरक फरक विवरण फेला परेका १९ वटै कम्पनीलाई साउन २९ गते पत्र लेखेर प्राधिकरणले स्पष्टीकरण सोधेको थियो ।
कम्पनीहरुले बुझाएको स्पष्टीकरण चिक्त बुझ्दो नदेखिएपछि कारवाही गर्ने तयारीसहित फाइल तयार भएको हो ।‘प्राधिकरणले लिखित स्पष्टीकरण सोधेको थियो, जवाफ आयो तर चिक्त बुझाउने खालको देखिएन, एकाध कम्पनी बाहेक अधिकांशको तथ्यांकमा ठूलो भिन्नता थियो, कारवाहीको निर्णय बोर्ड बैठकले गर्छ’, प्राधिकरण उच्च स्रोतले सिंहदरबारसँग भन्यो ।
‘त्यहाँ बिमकले कानुनबमोजिम जिम्मेवारी निर्वाह नगरी गलत तथ्यांक पेस गरेकाले बिमा ऐन, २०७९ को दफा ८३ समेतको उल्लंघन गरेका हुँदा बिमा ऐन, २०७९ को दफा १३८ बमोजिम जरिवानाको कारबाही किन नगर्ने ? त्यहाँ बिमकउपर उल्लेखित कारबाही हुन नपर्ने भए सबुद प्रमाणसहित चित्त बुझ्दो स्पष्टीकरण पेस गर्न सोही ऐनको दफा १३९ को प्रयोजनार्थ यो सूचना गरिएको छ’, प्राधिकरणले बिमा कम्पनीहरुलाई लेखेको पत्रमा भनिएको थियो । बिमा ऐनको दफा १३८ को उप दफा १९ मा झुठो विवरण पेस गर्ने कम्पनीहरुलाई पहिलो पटक २ लाख रुपैयाँ जरिवाना गराउने व्यवस्था छ ।
दोस्रोपटक त्यस्तो नियम उल्लंघन गरेमा २५ लाख र तेस्रो पटकदेखि हरेकपटक ५० लाख रुपैयाँ जरिवाना तिराउन सक्ने व्यवस्था छ । त्यसरी जरिवानामा पर्ने कम्पनीहरुमा जीवन बीमा तर्फ सुर्य ज्योति, हिमालयन, एशियन, नेपाल लाइफ, नेशनल लाइफ, रिलायबल लाइफ, सिटिजन लाइफ, सानिमा रिलायन्स, प्रभु महालक्ष्मी र आइएमई लाइफ रहेका छन् ।
निर्जिवन बीमा कम्पनी तर्फ झुठो विवरण पेश गर्नेहरुमा नेशनल इन्स्योरेन्स, हिमालयन एभरेष्ट, सगरमाथा लुम्बिनी, नेको, युनाइटेड अजोड, आईजीआई प्रुडेन्सियल, शिखर, सिद्धार्थ प्रिमियर, ओरियन्टल र राष्ट्रिय बीमा कम्पनी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्