कराकोश । उत्तरी इराकी सहर काराकोशमा एउटा विवाह समारोह भइरेहको स्थानमा आगलागी हुँदा कम्तीमा १ सय जनाको मृत्यु हुनाका साथै १ सय ५० भन्दा बढी घाइते भएका अधिकारीहरूले बुधबार बिहान जानकारी दिएका छन् ।
मोसुलको पूर्वमा रहेको इशाई धर्मावलम्बीको बाहुलता रहेको सहरको मुख्य अस्पतालमा एएफपीका फोटोग्राफरले एम्बुलेन्सले जलेका मानिस ल्याएको देखेका तथा उनीहरूलाई रक्तदान गर्न अस्पतालको आँगनमा कैयौं मानिस भेला भएका बताएका छन् ।
अत्यधिक ज्वलनशील पदार्थले सखाप पार्ने कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा यति धेरै मानिसले ज्यान गुमाएका अधिकारीहरूले बताएका छन् ।
इराकको आधिकारिक समाचार समितिले निनेवेह प्रान्तका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै हमदानियाहमा विवाह समारोह भइरहेको एउटा हलमा भएको आगलागीमा एक सय जनाको मृत्यु तथा १ सय ५० भन्दा बढी घाइते भएका जनाएको छ । इराकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल–बद्रले पनि मृतकको उक्त सङ्ख्या एएफपीलाई पुष्टि गरेकाे छ ।
अस्पताल भर्ना भएका अधिकांश बिरामी जलेका, अक्सिजन अभावका कारण श्वासप्रश्वासमा समस्या भएका तथा केही भने भीडले कुल्चिदा घाइते भएका छन् ।
मंगलबार साँझ उक्त दुर्घटना भएको हो । यद्यपि आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रारम्भिक विवरणअनुसार पटाका पड्काउँदा आगलागी भएको बताइएको छ ।
दुलहा र दुलही पनि आगोको चपेटमा परे वा नपरेको केही जानकारी प्राप्त भएको छैन । दुवै जनाले नाच्न थालेपछि आगो सल्किएको जनाइएको छ ।एएफपी
प्रतिक्रिया दिनुहोस्