Shikhar Insurance
National Life

बैंकका साहूहरूलाई गभर्नरले भने, ‘लचिलो नीतिको दुरुपयोग भयो त्यसमा हामी सचेत छौं’

सिंहदरबार संवाददाता
२०८० आश्विन ९, मंगलवार १७:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरूलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा यही आश्विन ८ गतेका दिन बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष भेटघाट तथा छलफल गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले अर्थतन्त्रको बाह्य स्थितिमा सुधार देखिएको भए तापनि आर्थिक क्रियाकलापहरू अपेक्षित रूपमा चलायमान हुन नसक्नुका कारण, समस्या र समाधानका संभावित उपायहरूका विषयमा उक्त भेटघाट तथा छलफल केन्द्रित रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त छलफलका क्रममा सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले नेपाल राष्ट्र बैंकमार्फत हालै मात्र जारी चालू आर्थिक वर्षको पहिलो महिनाको वस्तुस्थितिले बाह्य स्थितिमा उल्लेखनिय सुधार भएको भएतापनि आन्तरिक उत्पादन, उत्पादनमूलक क्षेत्रमा लगानीको अवस्था, पुँजीगत खर्च, आयात, रोजगारी, मुद्रास्फीति जस्ता क्षेत्रहरूमा अपेक्षित सुधार नदेखिनुले अर्थतन्त्र अझै पनि जोखिमपूर्ण रहेकोप्रति गभर्नरज्यूको ध्यानाकर्षण गराए ।

वर्तमान विषमपूर्ण अवस्थामा विश्वासिलो वातावरण र समय सान्दर्भिक नीतिगत व्यवस्थाले मात्र आशा, उत्साह र उत्प्रेरणा जगाउने र समग्र आर्थिक क्रियाकलापहरूले गतिशिलता प्राप्त गर्ने विषयमा जोड दिँदै, अध्यक्ष गोल्यानले बाफियाको व्यवस्थाबमोजिम संस्थापक सेयर सर्वसाधारण सेयरमा रूपान्तरण गर्न पाउने व्यवस्था, चालू पूँजी कर्जामा सुधार, उत्पादनमूलक र अन्य क्षेत्रमा दोहोरो ब्याजदरको व्यवस्था, बैंक तथा वित्तीय संस्थाको बढ्दो सञ्चालन खर्च र साँघुरिँदो लाभांशलगायतका विषयमा गभर्नरसमक्ष लिखित सुझाव पत्र पेस गरे ।

त्यसैगरी अध्यक्ष गोल्यानले सिबिफिनको पहलमा सातै प्रदेशमा बिजनेस समिट आयोजना हुन लागेको र उक्त समिटमा नेपाल राष्ट्र बैंकको सहभागिताका लागि आग्रह गर्दै आत्मनिर्भर अर्थतन्त्र र निर्यात संभावनाका क्षेत्रहरू नामक बहुपयोगी अध्ययनमूलक पुस्तक गभर्नरज्यूसमक्ष हस्तान्तरण गर्नुभयो । विगतमा छिमेकी राष्ट्रहरूको अर्थतन्त्र चरम संकटमा पर्दै गर्दा पनि नेपाल राष्ट्र बैंकको सुझबुझपूर्ण कदमले नेपालको अर्थतन्त्र जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै, समग्र अर्थतन्त्र, उद्यम–व्यवसाय र आम जनजीविकामा देखिने गरी सुधार ल्याउन सिबिफिनले पेस गरेका सुझावहरूको औचित्य, आवश्यकता र महत्वलाई हृदयगंम गरी सो अनुसारको नीतिगत व्यवस्थाका लागि गभर्नरसमक्ष विशेष आग्रह गरे ।

त्यसैक्रममा गभर्नर महाप्रसाद अधिकारीज्यूले बाह्य परिसूचकहरूमा सन्तोषजनक सुधार देखिँदै गएको र देशको अर्थतन्त्र क्रमशः लयमा फर्किंदै गरेको विषयमा चर्चा गर्दै, आवश्यकता, समय सन्दर्भ र वस्तुस्थितिको मूल्यांकनका आधारमा राष्ट्र बैंकले नीतिगत सुधारका उपायहरू अपनाउँदै जाने बताए । राष्ट्र बैंकप्रति सबैं क्षेत्रको आशा र भरोसा बढ्दै गएको र समग्र अर्थतन्त्रलाई सुदृढ बनाउने जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएको भन्ने भाष्य निर्माण गरिँदा चुनौती बढेको उल्लेख गर्दै, गभर्नर अधिकारीले तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशिल बनाउने कार्यमा सबै सरोकारवाला पक्षहरू उत्तिकै गम्भीर र जिम्मवार हुन आवश्यक रहेको औंल्याए ।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रूपमा देखा परेका संकटका बेला राष्ट्रिय अर्थतन्त्र, आम उद्यम व्यवसाय र जनजीविकाको सहजताका लागि राष्ट्र बैंकले लिएका लचिला नीतिको दुरुपयोग भएकोप्रति चासो व्यक्त गर्दै, त्यस्ता क्रियाकलाप हुन नदिने विषयमा राष्ट्र बैंक सचेत रहेको गभर्नर अधिकारीले उल्लेख गरे ।

सिबिफिनले संस्थागतरुपमा समसामयिक विषयहरूमा आवश्यकता अनुसार छलफल तथा बहस चलाउँदै, अध्ययन एव. विश्लेषणका आधारमा महत्वपूर्ण सुझाव राख्दै आएको कार्यप्रति धन्यवाद व्यक्त गर्दै गभर्नर अधिकारीले उल्लेखित सुझावहरूको विषयमा नेपाल राष्ट्र बैंकले समयानुकुल निर्णय लिने बताए ।

गभर्नरकाे कार्यकक्ष, नेपाल राष्ट्र बैंकमा सम्पन्न भएको उक्त छलफलमा नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नरद्वय डा. निलम ढुंगाना तिम्सिना, बम बहादुर मिश्र, कार्यकारी निर्देशक गुणाकर भट्ट, निर्देशक मुक्ति सापकोटा र सिबिफिनकोतर्फबाट वरिष्ठ उपाध्यक्ष भोजबहादुर शाह, सचिव कुशप्रसाद मल्ली, कार्यकारी सदस्यहरू उपेन्द्रप्रसाद पौडेल, लिला प्रकाश सिटौला मोतीलाल दुगड, दिनेशराज जोशीलगायतको सहभागिता थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्