Shikhar Insurance
National Life

राष्ट्रपतिद्वारा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र भवन उद्घाटन

सिंहदरबार संवाददाता
२०८० आश्विन ९, मंगलवार ११:३६
Hyundai
NCELL
NIMB

जनकपुरधाम। राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधाममा २३ वर्षदेखि निर्माणाधीन महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन गरेका छन् ।

सहरी विकास मन्त्रालय र जनकपुरधाम उपमहानगरपालिकाद्वारा संयुक्तरूपमा आयोजित एक समारोहका बीच आज उहाँले संस्कृति केन्द्र सभाहलको उद्घाटन गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाहलको उद्घाटन पश्चात महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र सभाहल समुदघाटन तथा नागरिक अभिनन्दनका लागि आयोजित संयुक्त समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले स्वर्गीय निधिलाई लोकतान्त्रिक आन्दोलनका योद्धा, अहिंसा र निष्ठाका पुञ्जको संज्ञा दिँदै उनको नाममा स्थापित नवनिर्मित भवनको उद्घाटन गर्ने अवसर पाउनु आफ्ना लागि गौरवको विषय भएको बताए ।

कार्यक्रममा स्वर्गीय निधिपुत्र एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २३ वर्षअघि आफ्नो परिवार र तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको सपना पूरा भएकोमा खुसी व्यक्त गरे । उनले नवनिर्मित सभाहलले अहिंसा, शान्ति र मिथिलाको संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यसबाट लाभ लिन सबैलाई आग्रह गरे।

कार्यक्रममा सहरी विकासमन्त्री सीता गुरुङले नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान गर्नुभएका स्वर्गीय निधिको नाममा स्थापित संस्कृति केन्द्रले सभासम्मेलन गर्न सघाउ पुग्ने मात्रै नभई यस क्षेत्रको संस्कृतिको विकास र आर्थिक समुन्नतिका लागि समेत योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले सङ्घीय सरकारको सहरी विकास मन्त्रालयले संस्कृति केन्द्रको भौतिक संरचना बनाए पनि प्रदेश, स्थानीय सरकार एवं सरोकारवालाले यसको उपयोगबाट अधिकतम लाभ लिन सक्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपालका सातै प्रदेशमा बहुआयामिक महत्त्वको सभाहल निर्माण गर्ने सङ्घीय सरकारको नीतिअनुसार जनकपुरमा पनि सभाहल सञ्चालनमा आएको बताए।

त्यसैगरी जनकपुधाम उपमहानगरपालिकाका पूर्वप्रमुख बजरङ्गप्रसाद साहले आफ्नो पालमा निर्माण सुरु भएको सभाहल निर्माण सम्पन्न भएर उद्घाटन भई सञ्चालनमा आएकामा खुसी व्यक्त गरे । उनले सभाहलको व्यवस्थापन र परिसरमा रहेका अन्य संरचना निर्माण संस्कृति केन्द्रको थप विकास एवं विस्तार गर्न सरकारलाई आग्रह गरे ।

सहरी विकास मन्त्रालयको १२ करोड २४ लाख ७९ हजार तीन सय ४० रूपैयाँ लागतमा निर्माण सम्पन्न भएको भवन सवा दुई बिघा क्षेत्रफलमा फैलिएको छ । स्वर्गीय निधि पत्नी प्रेमसागरी देवी निधिले भवनको शिलान्यास गरेसँगै विसं २०५७ वैशाखमा भवनको निर्माण कार्य सुरु भएको थियो ।

नवनिर्मित भवनमा पाँच सय ४० जना क्षमताको सभाहल, दुई सय जना अटाउने कन्फरेन्स हल छ भने परिसरभित्र पुस्तकालय भवन, सङ्ग्रहालय ब्लक, कम्पाउन्ड वाल, पार्किङ, सार्वजनिक शौचालय, चमेना गृह ब्लकलगायतका संरचना छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्