Shikhar Insurance
National Life

असिनाका कारण ढोरपाटन क्षेत्रमा स्याउ उत्पादनमा कमी

सिंहदरबार संवाददाता
२०८० आश्विन ७, आईतवार ०९:५४
Hyundai
NCELL
NIMB

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका तीन सय र स्थानीय प्रजातिका दुई सय गरी पाँच सय स्याउका बिरुवा छन् । उनले दुवै प्रजातिका स्याउबाट गत वर्षमात्रै १५ क्विन्टल उत्पादन गरेर बिक्री गरे । तर यसपटक भने उनको स्याउ बगान रित्तै छ ।

गत चैत र वैशाखमा परेको असिनाका कारण उनको स्याउ बगानको उत्पादनमा कमी आएको छ । उनले विसं २०४८ देखि परम्परागत तरिकाले स्याउखेती गर्दै आएका छन् । उनको मसगाउँमा रहेको १५ रोपनी जग्गामा स्याउखेती छ । दुई वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको स्याउ गत वर्ष राम्रो उत्पादन दिएको भए पनि यस वर्ष उत्पादनमा कमी आएको बताए । “गत वर्ष १५ क्विन्टल स्याउ बिक्री गरेको थिए, यस वर्ष २० देखि २५ क्विन्टल बिक्री गर्ने लक्ष्य थियो”, किसान बुढाथोकीले भने, “चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आयो, ढोरपाटन र निसेलढोर क्षेत्रमा पहिलोपटक असिना परेको थियो ।”

Citizen Life
Kumar Bank
Prabhu Insurance

असिनाका कारण ढोरपाटन र निसेल्ढोर क्षेत्रका स्याउ किसान अहिले निराश भएको अगुवा स्याउ किसान बुढाथोकीले बताए । परम्परगात स्याउखेती सफल नहुँदा निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए । उनले आफ्नो व्यक्तिगतरूपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने लक्ष्य राखेका छन् ।

ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन् । कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात् कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाएको थियो । तर कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएको आधुनिक प्रजातिको स्याउको बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो । स्याउको परीक्षण सफल भएपछि अहिले पुनः नयाँ बिरुवा थप भइरहेको छ ।

ढोरपाटन–९ ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले समेत एक सय ८१ वटा बिरुवामा केही बिरुवामा गत वर्षदेखि स्याउ फल्न थालेको बताउँदै यस वर्ष भने असिनाका कारण स्याउ निकै कम फलेको बताए ।

यहाँका स्थानीय परम्परागत स्याउखेती छाडेर इटालियन प्रजातिको स्याउखेती लगाउन अग्रसर भए पनि यसपटक ढोरपाटन क्षेत्रको स्याउ उत्पादनमा भारी गिरावट आएको किसान रामबहादुरले बताए । ढोरपाटन क्षेत्रमा दुई सयभन्दा बढी किसानले परम्परागत र एक दर्जन किसानले व्यावसायिक स्याउखेती गर्दै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्