Shikhar Insurance
National Life

‘जासुसमाथि नै प्रतिजासुसी गरेपछि भारतको संलग्नता खुल्यो’

सिंहदरबार संवाददाता
२०८० आश्विन ५, शुक्रबार १५:३०
Hyundai
NCELL
NIMB

टोरन्टो । भारतीय मूलका क्यानडाली शिखको हत्यामा भारतीय गुप्तचर संस्थाका कर्मचारीको संलग्नता रहेको विवरण गुप्तचरहरूबाटै प्राप्त भएका क्यानडाका एक जना अधिकारीले बताएका छन् । भारतको बाह्य खुफिया संस्थाका कर्मचारीमाथि निरन्तर गरिएको गुप्तचरीबाट उनीहरूको पोल खुलेको उनले एशोशिएटेड प्रेसलाई बताएका छन् ।

क्यानडामा रहेका भारतीय कूटनीतिज्ञ र खुफिया एजेन्सीका अधिकारीको संलग्नतामा ४५ वर्षीय पृथकतावादी नेता हरदिपसिंह निज्जरको हत्या भएको सूचना अमेरिका, बेलायत, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यनाडा संलग्न साझेदार खुफिया समूह ‘फाइभ आइज्’ले उपलव्ध गराएको नाम उल्लेख नगर्ने शर्तमा ती अधिकारीले बताए । उनले हत्याको सूचना कुन देशको जासुसी संस्थाबाट प्राप्त भएको हो भन्नेबारेमा भने केही उल्लेख गरेनन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हत्यामा भारतीय कूटनीतिज्ञ एवं जासुसको संलग्नता रहेको समाचार सबैभन्दा पहिले क्यानडाको प्रसारण संस्था क्यानडा ब्रोडकास्टिङ कर्पोरेसनले सार्वजनिक गरेको थियो ।

भारतले क्यानडाका नागरिकलाई भिसा नदिने निर्णय गरेपछि हत्यामा भारतको हात रहेको गुप्तचर निकायबाट प्राप्त विवरण बाहिर आएको हो । भारतले नयाँदिल्लीमा रहेका क्यानडाली कूटनीतिक कर्मचारीको सङ्ख्या घटाउन भनेको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गत सोमबार पृथकतावादी नेता हरदीपसिंह निज्जरको हत्याको पछाडि भारत सरकारको हात रहेको आरोप लगाएपछि भारत–क्यानडा सम्बन्धमा तनाव उत्पन्न भएको छ ।

आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गर्नुपर्ने व्यक्तिको सूचीमा रहेका निज्जरको गत जुनमा क्यानडाको ब्रिटिस कोलम्बियास्थित गुरुद्वारा बाहिर गोली हानी हत्या गरिएको थियो । पेसाले प्लम्बर उनलाई क्यानडाले सन् २००७ मा नागरिकता दिएको थियो ।

क्यानाडाको संसद्मा प्रधानमन्त्री ट्रुडोले आफ्नो देशको राष्ट्रिय सुरक्षा अधिकारीहरूले निज्जरको हत्यामा भारत सरकारका ‘एजेन्ट’हरू संलग्न रहेका विश्वसनीय प्रमाण रहेको जानकारी दिएका बताएका थिए।

क्यानडाका प्रधानमन्त्री र विदेश मन्त्रीले लगाएको आरोपलाई भारतको विदेश मन्त्रालयले अस्वीकार गर्दै दुवै नेताका भनाइलाई ‘बेतुक’ बताएको थियो ।

संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई बिहीबार सम्बोधन गर्दै क्यानडाका प्रधानमन्त्रीले ओटावा र नयाँदिल्लीबीच कूटनीतिक सम्बन्ध जटिल मोडमा पुगेको स्वीकार गरे । उनले भारतसँग सम्बन्ध बिगार्न आफूले नचाहेको तर विधिको शासनको पालना तथा आफ्ना नागरिकको रक्षा आफ्नो पहिलो कर्तव्य भएको बताए।

यसअघि क्यानडाले पृथकतावादी खालिस्तान नेता निज्जरको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि भारतले पनि उही शैलीमा क्यानडाका कूटनीतिज्ञलाई निष्कासन गरेको थियो ।

भारतको विदेश मन्त्रालयले नयाँदिल्लीमा रहेका क्यानाडका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गरिएकोे जानकारी दिँदै निजलाई पाँच दिनभित्रमा भारत छाड्न आदेश दिएको थियो ।

भारतले क्यानडाका नागरिकलाई भिसा नदिएपछि उसको पर्यटन क्षेत्रमा असर पर्ने दुवै देशका पर्यटन व्यवसायीले बताएका छन् । भारतको अध्यागमन कार्यालयका अनुसार गत वर्ष २ लाख ७७ हजार क्यानडाका पर्यटकले भारत भ्रमण गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्