काठमाडौं । नेपाल बिमा प्राधिकरणको आयोजनामा आज बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेटौंडामा ‘प्रदेश सरकार र बिमा’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका दुर्गम स्थानमा रहेका पालिकाहरूमा बिमासम्बन्धी जनचेतना अभिवृद्धि र पहुँच विस्तारका लागि सहकार्यका साथ अघि बढ्न आग्रह गरे ।
मुख्यमन्त्री जम्कट्टेलले ग्रामीण क्षेत्रका नागरिकसम्म बिमाको पहुँच पु¥याउन र बिमा दाबी भुक्तानी प्रक्रियालाई सरल एवम् सहज बनाउन ध्यानाकर्षण गरे ।
नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्रदेश बिमा नीति निर्माणका साथै बिमासम्बन्धी जनचेतना अभिवृद्धिका लागि प्रदेश सरकारसँग सहकार्य गर्न प्राधिकरण तयार रहेको बताए ।अध्यक्ष सिलवालले प्रदेश सरकारले अनुदानको रकम घटाएर विपन्न वर्गको बिमा गर्नु उपयुक्त हुने सुझाव दिँदै बिमाबाट विपन्न वर्गको आर्थिक रक्षावरण हुनुका साथै गरिबी न्यूनीकरणमा समेत योगदान पुग्ने बताए ।
कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सवेदीले बिमासम्बन्धी समग्र विषयमा प्रस्तुति गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले बिमा कम्पनीहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिमाका बारेमा नागरिकलाई जानकारी दिई बिमा गर्न प्रेरित गर्नुपर्ने, प्रदेश सरकारले नै लोपोन्मुख जातिको बिमा गर्नु उचित हुने, बिमा दाबी भुक्तानी प्रक्रिया सरल एवम् सहज हुनुपर्ने, बिमा कम्पनीहरू गाउँ–गाउँमा जानुपर्ने, बिमा कम्पनीले निर्जीवन बिमा खुसी भएर गर्ने तर बिमा दाबी दिँदा भने दुःख दिने प्रवृत्ति हटाउनुपर्ने, बिमालेखलाई सरल र छोटो बनाउनुपर्ने लगायतका धारणा राखेबा थिए ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्री, प्रमुख सचिव, नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक, प्रदेश योजना आयोगका पदाधिकारी, प्रदेश मन्त्रालयहरूका सचिव, जीवन बिमा कम्पनी र निर्जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्