काठमाडौं । नेपाल नेत्रज्योति संघले आँखा स्वास्थ्यसम्बन्धी जनचेतना बढाउने उद्देश्यले टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । यही असोज २५ गते अर्थात् अक्टोबर १२ तारिखमा परेको विश्व दृष्टि दिवसको अवसरमा संघले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगितामा सहभागी भई उत्कृष्ट हुने टिकटक भिडियोलाई नगद ५० हजार रुपैयाँसहित संघले सम्मान गर्नेछ। प्रतियोगिले आँखा स्वास्थमा केन्द्रित भई जनचेतनामुलक भिडियो निर्माण गर्नुपर्ने छ । पछिल्लो समय युवादेखि वृद्धसम्म सबै उमेर समूहका व्यक्तिहरुमाझ लोकप्रिय भइरहेको टिकटकमार्फत आमनागरिकलाई आँखाको महत्व र आँखा स्वास्थ्यका बिषयमा जनचेतना जगाउने उद्देश्य यो प्रतियोगिता आयोजना गरिएको बताउँछन् नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्र ।
त्यस्तै संघका महासचिव भरतबहादुर चन्दका अनुसार सन् २०२१ मा भएको आरएएबी सर्वेले समेत नेपालमा आँखा स्वास्थ्यसम्बन्धी जनचेतनाको कमी रहेको देखाएको र अहिले पनि नेपालका धेरै नागरिकहरु आँखा उपचार हुन्छ भन्ने जानकारीकै अभावमा दृष्टिविहीन जीवन बिताइरहेका छन् उनीहरुलाई वा उनिहरुको परिवारमा पनि आँखा स्वास्थ्यसम्बन्धी जनतेचना जागृत होस् भन्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरिएको हो ।
आरएएबी स्थापनाकालदेखि नै संघले आँखा उपचार सेवासँगै आँखा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कामलाई पनि निरन्तरता दिइरहेको र अहिले पछिल्लो समय मानिसहरुमा आएको सामाजिक सञ्जालहरुको बढ्दो लोकप्रियतालाई मध्यनजर गरेर जनचेतनाका लागि टिकटक भिडियो प्रतियोगिता आयोजना गर्न लागिएको बताउछन् संघका अध्यक्ष प्रा.डा चेतराज पन्त ।
आइकेयर फाउन्डेसनको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा प्रतियोगीहरुले निर्माण गरेको भिडियोको विषयवस्तु मौलिक हुनुपर्नेछ भने भिडियोमा सामाजिक सद्भावमा खलल पार्ने तथा कुनै पनि किसिमको समाजलाई नकारात्मक प्रभाव पार्ने संवाद वा विषयवस्तु समावेश गर्न पाइने छैन ।
प्रतियोगीले असोज २३ गते ५ बजेसम्ममा भिडियोको लिंक पठाउन सक्नेछन् त्यसपछि प्राप्त लिंकलाई प्रतियोगितामा समाबेश नगरिने बताउछन् संघका कार्यक्रम व्यवस्थापक रञ्जन साह । बिजेताको घोषणा असोज २५ गते विश्व दृष्टि दिवसको दिन गरिनेछ र सोको जानकारी नेपाल नेत्रज्योति संघको टिकटक तथा फेसबुकमार्फत गराइने संघले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्