काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार उच्च अंकले बढेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहिबार ४४.३४ अंक बढेर २,०२९.७८ को विन्दुमा पुगेको हो ।
त्यस्तै, ठूूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ७.५५ अंक बढेर ३८८.७२ को विन्दुमा बन्द भएको छ ।
दिनभरीमा २७८ कम्पनीको १ करोड १२ लाख ६४ हजार कित्ता सेयर ३ अर्ब २९ करोड ३९ लाख रुपैयाामा खरिदबिक्री भए । कारोबारमा आएको २१७ कम्पनीको सेयर मूल्य बढेको छ । ११ कम्पनीको घटेको छ भने, २ कम्पनीको सेयर मूल्य स्थिर छ ।
नेप्सेका अनुसार यसदिन ४ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बिहिबार नेश्नल हाइड्रोपावर कम्पनी, दिब्यश्वरी हाइड्रोपावर, स्वविमान लघुवित्त र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै, मन्दाकिनी हाइड्रोपावर र थिस्टार हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । कारोबारमा आएको एनआइबीएल ग्रोथ फण्डको मूल्य सबैभन्दा बढी ४.०७ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । इन्स्योरेन्सको २० करोड १८ लाख ३६ हजार रुपैयाा बराबरको सेयर खरिदबिक्री भएको हो । त्यसैगरी, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १३ करोड ९६ लाख ५८ हजार, शिवम् सिमेन्टको १० करोड ५२ लाख ७९ हजार, एनआईसी एशिया बैंकको ९ करोड ५६ लाख ५९ हजार र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९ करोड ५१ लाख २५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.३१ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन वित्त उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक करिब ४ प्रतिशत बढेको छ। कारोबारमा आएका लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।
प्रतिक्रिया दिनुहोस्