राँझा । बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुने गरेका छन् । नेपालगञ्जमा सङ्गठितरुपमा उत्पादन हुने थारु महिलाका हस्तकलाका सामग्री डेनमार्क, अमेरिका, जापान, थाइल्यान्डलगायतका मुलुकमा निर्यात गर्दै आएको नेपालगञ्जस्थित पञ्चशील हस्तकला केन्द्रका अध्यक्ष निरु चौधरीले जानकारी दिइन् ।
“हामीले यहाँ उत्पादन गरेर सामग्री काठमाडौँ पठाउँछौँ । त्यहाँबाट विदेश पठाउने काम हुन्छ”, उनले भनिन् । “हस्तकला झन्झटिलो हुने भएकाले मागअनुसारको सामग्री तयार गर्न सकिरहेका छैनौँ ।” ढकिया, पेनहोल्डर, गमला, हट्केश, ज्वैलरी, डस्टविन, ट्रेलगायतका सामग्रीको धेरै माग हुने गरेको चौधरीले बताइन् ।
थारू हस्तकलाका सामग्री लोप हुँदै जान थालेपछि व्यवसाय गरिएको जनाउँदै उनले यसले हस्तकलाको संरक्षण हुनुका साथै आम्दानीको राम्रो स्रोत बनेको बताइन् । चाैधरीका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाले दिएको तीनमहिने ‘थारु हस्तकला उत्पादन’ तालिम लिएपछि महिलाले हस्तकलाका सामग्री उत्पादन गर्दै बिक्री गर्न थालेका हुन् ।
हस्तकलाको काम गर्न थालेपछि दुई चार हजारका लागि श्रीमान्को भरपर्न नपर्ने नेपालगञ्ज उपमहानगरपालिका–१२ निवासी सरिता चौधरीले बताइन् । “उत्पादित वस्तुको बजार अभाव छैन जति उत्पादन गरे पनि बजारमा खपत हुन्छ”, उनले भनिन् । , “अहिले त विदेश पनि जान थालेको छ ।” घरमै बसेर थारु महिलाले मासिक करिब रू १५ हजारभन्दा बढी आम्दानी गरिरहेका सरिताले बताइन् ।
मेहनतअनुसार कुनै महिना त्योभन्दा पनि बढी आम्दानी हुने गरेको उनकाे भनाइ थियो । उनका अनुसार सामान बनाउन वस्तुको प्रकृति हेरेर समय लाग्ने गरेको छ । सामग्री बनाउन लाग्ने समयको आधारमा सामानको मूल्य तोक्ने गरिएको नेपालगञ्ज–१२ की विद्या थारुले बताइन् । उनका अनुसार अहिले एउटा सामानको मूल्य ३ सयदेखि सुरु हुन्छ । यस क्षेत्रका महिलाले जङ्गलबाट कुश, खर ल्याएर हस्तकलाका सामग्री बनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्