काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले शिष्टाचार भेट गरेका छन् । सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राखेका थिए।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको सो भेटमा पार्कले सामसङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सोसम्बन्धी गतिविधिबारे संक्षिप्तमा जानकारी गराएका थिए ।
नेपालमा सञ्चालन गर्न सकिने उद्योग, सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधिसम्बन्धी तालिम तथा भविष्यमा सामसङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औद्याेगिक उत्पादनसम्बन्धीका योजनाबारे पनि पार्कले सो अवसरमा जानकारी गराएका थिए ।
सो अवसरमा सामसुङका उपाध्यक्षद्वय हयुङ वु लि र सुङ जुन पार्क, प्रबन्ध निर्देशक ह्यून लि, नेपालका लागि कोरियाली राजदूत थेयङ पार्क र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छालगायतको उपस्थिति थियो ।
स्वदेशमै टिभी उत्पादन र रोजगारीको अवसर
सामसङ कम्पनीको प्रविधिमा आधारित रहेर गोल्छा समूहले नेपालको नवलपरासीको भूमहीमा पूर्ण टिभी जडान उत्पादन कारखाना सञ्चालनमा ल्याएको पनि सो अवसरमा जानकारी दिइयो ।
गत अप्रिलदेखि सो कारखाना सञ्चालनमा आएको जनाइएको छ । सो कारखाना पूर्ण क्षमतामा सञ्चालन हुँदा वार्षिक एक लाख वटा टिभी तयार हुने तथा एक हजार जनाले रोजगारी पाउनसक्ने बताइएको छ ।
राष्ट्रपति पौडेललाई सामसङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले उक्त कुराको जानकारी गराउनुभयो । साथै सामसुङको प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत पुल्चोक इञ्जिनियरिङ क्याम्पसमा सामसङ इन्नोभेसन क्याम्पस सञ्चालनअन्तर्गत एक सय जना विद्यार्थीलाई सहभागी गराई दुई वर्षे कार्यक्रम सञ्चालनमा रहेको सो अवसरमा जानकारी दिइयो ।
राष्ट्रपति पौडेलले प्रविधि हस्तान्तरणसम्बन्धी कार्यक्रम, कारखानामा तयार हुने टिभी तथा त्यसबाट यहाँ सिर्जना हुने रोजगारीप्रति प्रसन्नता प्रकट गरेर्का बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्