मुग्लिन । चितवनको पहाडी भूगोलमा पर्ने इच्छाकामाना गाउँपालिकामा थुप्रै पर्यकटीयस्थल छन् । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीयस्थल ओझेलमा पर्दै आएका छन् । पछिल्लोे समय फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै इच्छाकामना गाउँपालिकाको माथिल्लो विकट भेगमा पनि पर्यटक बढ्न थालेको छ ।
वडा नं २ मायाटार गाउँ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै गएको स्थानीय बताउँछन् । शक्तिखोरबाट उपरदाङगढी हुँदै फिस्लिङ जोड्ने सडकको मध्यभागमा पर्ने मायाटार गाउँमा गुरुङ र चेपाङ जातिको बाक्लो बसोबास छ । यो गाउँ चितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपरदाङगढीबाट आठ किलोमिटरको दूरीमा पर्दछ ।
गर्मी मौसममा आन्तरिक पर्यटक बढी पुग्ने गरेका घरबास (होमस्टे) सञ्चालकसमेत रहेका स्थानीय टीका गुरुङले बताए । “जिल्लाको तराई भेग र इच्छकामनाको तल्लो भेगमा गर्मी हुँदा मायाटारमा भने सिरक ओढेर सुत्नुपर्ने अवस्था हुन्छ”, उनले भने ।
“गर्मी छल्न अन्य मौसममा भन्दा बढी आन्तरिक पर्यटक यहाँ पुग्ने गर्छन् ।” यहाँ दैनिक आन्तरिक पर्यटक आएर बास बस्ने गरेको उनकाे भनाइ थियो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकको आवागमन बढेसँगै यहाँका गाउँलाई होमस्टेका रूपमा विकास गर्ने योजना रहेको बताए ।
विशेष गरेर मायाटारसहित नजिक रहेका गुरुङ बस्ती, घुर्केस र डाँडागाउँमा होमस्टे सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । “यहाँ आउने पर्यटकलाई गुरुङ र चेपाङ समुदायको सांस्कृतिक झाँकीबाट मनोरञ्जन प्रदान गर्नका लागि होमस्टे सञ्चालन गर्ने योजना बनाएका छौँ ।
मायाटार नजिकै घुर्केस, डाँडागाउँलगायत रमणीय गुरुङ बस्ती छन्”, अध्यक्ष गुरुङले भने, “गुरुङ र चेपाङ समुदायको कला संस्कृतिबाट यहाँ आउने पर्यटकलाई थप मनोरञ्जन प्रदान गर्न सकिन्छ ।” होमस्टे सञ्चालनका लागि स्थानीयलाई तालिमका साथै आर्थिक सहयोग गर्ने गाउँपालिकाको योजना रहेको उनले बताए ।
होमस्टे सञ्चालनमार्फत स्थानीयको आयस्तरमा वृद्धि हुने उनकाे भनाइ थियो । बालगौरी पाथीभरा सिंहदेवीमाईको मन्दिर मायाटारमा रहेको बालगौरी पाथीभरा सिंहदेवीमाईको मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको सङ्ख्या पनि बढ्दै गएको छ ।
इच्छाकामना गाउँपालिकाको वडा नं २ मा पर्ने यो मन्दिरमा सन्तान नहुनेले सन्तान प्राप्तिका लागि भाकल गरेर पूजा गर्ने चलन रहेको स्थानीय टीका गुरुङले बताउँछन् । उनका अनुसार यस मन्दिरमा स्थानीय मात्र नभई छिमेकी जिल्ला गोरखा, धादिङ, तनहुँसहित काठमाडौँ र भक्तपुरबाट समेत पूजा गर्न आउने गरेका छन् ।
यहाँ गाउँपालिकाले बाटो निर्माणसँगै अन्य भौतिक संरचना बनाउन आर्थिक सहयोग गर्दै आएको अध्यक्ष गुरुङले बताए । उनका अनुसार करिब दुई सय मिटरको दूरीमा फलामको रेलिङसहितको सिँढी बाटो निर्माण भएको छ । मन्दिर आसपासको क्षेत्रलाई गेटसहित तारजाली लगाएर थप व्यवस्थित र संरक्षण गरिएको गाउँपालिका अध्यक्ष गुरुङले बताए ।
हाल उक्त मन्दिरमा तीन जना पुजारीबाट नियमित पूजाआजा हुँदै आएको छ । मनकामना केबलकार जलविरे झरना, इच्छाकामना मन्दिर, उपरदाङगढीजस्तै इच्छाकामना गाउँपालिकाका लागि यो मन्दिर पनि एउटा धार्मिक पर्यटकीय गन्तव्य बन्न सक्ने अध्यक्ष गुरुङको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्