काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना चौधरी ग्रुप र भारतको प्रतिष्ठित व्यावसायिक घराना अदानी ग्रुपबीच व्यावसायिक साझेदारीको घोषणा भएको छ । यी दुई ग्रुपले नेपाल–भारत अन्तरदेशीय सिमेन्ट व्यवसायको अभिवृद्धि गर्ने गरी साझेदारीको घोषणा गरेका हुन् ।
नेपालसँग जोडिएका छिमेकी भारतीय राज्यहरुमा सिमेन्ट आपूर्तिमा सहजीकरण गर्ने उद्देश्यले व्यावसायिक साझेदारी गरिएको चौधरी ग्रुपले जनाएको छ । चौधरी ग्रुपका प्रबन्धनिर्देशक वरुण चौधरीले सम्झौता लगत्तै खुसी व्यक्त गर्दै यो सहमति दुई राष्ट्रबीचको आर्थिक र व्यापारिक सम्बन्धलाई अभिवृद्धि गर्ने चौधरी ग्रुपको उद्देश्यमा एउटा महत्वपूर्ण कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे।
‘यस रणनीतिक सहकार्यमार्फत हामी आर्थिक वृद्धि र विकासमा सक्रिय रूपले योगदान दिँदै नेपाल–भारत आर्थिक र व्यापारिक सम्बन्धलाई अझ बढी सुदृढ पार्न चाहन्छौँ’ प्रवन्धनिर्देशक चौधरीले भने ।
यस सहमतिले चौधरी ग्रुप र अदानी ग्रुपको सिमेन्ट व्यवसायमा रहेको साझा दृष्टिकोणलाई दर्शाउदै दुवै व्यापारिक समूहहरू सामूहिक वृद्धि र पारस्परिक लाभको यात्रामा अगाडि बढेको समेत उनले बताए । प्रबन्ध निर्देशक चौधरीले अदानी समूहसँग व्यावसायिक सहकार्य गर्ने अवसरको लागि अदानी ग्रुपका अध्यक्ष गौतम अदानीलाई धन्यवाद समेत दिए ।
प्रतिष्ठित दुई व्यावसायिक समूहबीचको साझेदारीले अन्तरदेशिय सिमेन्ट व्यवसाय र नेपाल र भारतबीचको दिगो सम्बन्धको प्रमाणको रूपमा रहने विश्वास दुवै पक्षले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्