काठमाडौं । घुमफिरका अनुभूतिहरूलाई कवितामा ढाल्दै आएका पर्यटनविद् हिक्मत सिंह ऐरको मुलुक चिनाउने कविता संग्रह ‘कञ्चनपुरदेखि कञ्चनजंघा’ कवितामय फन्को देशको लोकार्पण गरिएको छ ।
नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री एनपी साउदले आज कवि ऐरको उक्त पुस्तक लोकार्पण गरेका हुन । पर्यटन क्षेत्रमा दुई दशकभन्दा बढी समय काम गर्दा सुदूरपश्चिमको तराई कन्चनपुरदेखि पूर्व हिमालको कञ्चनजंघा बेस क्याम्पसम्म पुग्दाका अनुभव र अनुभूतिलाई कवितामय वर्णन कवि ऐरले यस कविता संग्रहमा गरेका छन् । यस सङ्ग्रहमा कविका मनका रहरहरु, भोगाइ र यस देश र समाजप्रति समर्पित केही भावहरु पनि विभिन्न कविताहरु मार्फत प्रस्तुत गरिएको छ।
कविता संग्रहको लोकार्पण गर्दै परराष्ट्र मन्त्री एनपी साउदले कवितामा मूलभूत रूपमा राष्ट्रियता, प्रकृतिप्रम र देशको पर्यटनको सम्भावनाका विषय समेटिएकोले कविता संग्रह नेपालको समग्र पर्यटन बुझ्ने आखिँझ्याल रहेको टिप्पणी गरे ।
कृतिको समीक्षा कार्यक्रममा वरिष्ठ साहित्यकार, पूर्वप्रशासक एवं पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले कविता संग्रह सिंगो नेपालको उज्यालो प्रतिविम्ब भएको उल्ल्ेख गर्दै भूस्वर्गका रूपमा रहेको नेपालको आन्तरिक पर्यटन प्रर्वद्धनमा कविता संग्रह सहयोगि बन्ने बताए ।
कविता संग्रहका विषयमा टिप्पणी गर्दै साहित्यकार चेतनाथ कंडेल, संस्कृतिविद् प्राज्ञ यज्ञराज उपाध्याय, पत्रकार अमृत भादगाउँले, डा. नवल त्रिपाठीलगायतले कविता संग्रहले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । यस्तै टिप्पणीकारहरूले यो पुस्तक नेपाल जान्न चाहने, देश चिन्न खोज्ने समेतलाई उपयोगी हुने विश्वास वयक्त गरे । सरल अनि कलात्मक भाषामा लेखिएका ५२ वटा कवितासँग सम्बन्धित ठाउँका रङ्गीन तस्बिरहरू पनि कविता संग्रहमा राखिएका छन् ।
बुक्स हिमालयले प्रकाशन गरेको यस पुस्तकमा सातै प्रदेशका हिमाल, पहाडतराई, चुरेभावरका जङ्गल, नदीनाला, संस्कृति र सम्पदाले भरिपूर्ण अलौकिक देवभूमिका मठमन्दिर, गुम्बा, पैत्य, मौलिक खानपिन, रहनसहन एवं अन्य विशेषताले भरिपूर्ण गन्तव्यहरूमा बटुलिएका अनुभव र अनुभूतिलाई कवितामा वर्णन गरिएको छ । २३ वर्षदेखि नेपाल पर्यटन बोर्डमा कार्यरत कवि हिक्मत सिंह ऐर नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशकसमेत हुन् ।
प्रतिक्रिया दिनुहोस्