फिक्कल । चौंरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौंरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो ।
सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि फर्किएर चौंरीपालन गरिरहेका छन् । यस ठाउँको धुपी क्षेत्रमा परम्पारगत रूपमा चौंरीपालन हुँदै आएको थियो । अहिले राईको गोठमा २५ चौंरी छन्। उनले घरपालुवा उराङ जातिका चौंरीपालन गरेको बताए ।
सन्दकपुर–४ को बिखेभञ्ज्याङ क्षेत्रमा पनि चौंरीपालन गरिँदै आएको छ । उनीहरुले दूध, घ्यु र छुर्पी बेचेर वार्षिक रूपमा ५ लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन् । हिमाली क्षेत्रको आम्दानीको स्रोतका रूपमा रहेको चौंरीपालनमा युवाले सक्रियता देखाएका छन् ।
लेकाली हावापानी शीतल–सुन्दर घाँसेमैदानमा सन्दकपुर–२ को धुपीक्षेत्र चौंरीपालनको पकेट क्षेत्र हो । तीन हजारदेखि छ हजार मिटर उचाइको हावापानी चौंरीका लागि अनुकूल मानिन्छ । चौंरी घरपालुवा र जंगली गरी दुई प्रकारको हुन्छ । उराङ जातको चौंरीलाई घरमा पाल्ने गरिएको छ ।
फालेलुङमा चौंरीपालन व्यवसाय पछिल्लो समय बढ्दै गएको छ । चौंरीपालनमा युवा बढी संलग्न छन् । चौंरीको दूधबाट मात्र होइन रौंबाट पनि आम्दानी हुने गरेको छ । रौंबाट राडीपाखी बन्ने गरेको छ । गाई किर्खोबाट जन्मिने चौंरीलाई ‘उराङ’ र पहाडी गोरु याकको सङ्सर्गबाट जन्मिने सन्तानलाई ‘डिम्जो’ भनिन्छ । डिम्जो चौंरीजस्तै दुधालु हुन्छ । तर झोप्क्यो (भाले) भने भारी बोक्न काम लाग्छ ।
प्रतिक्रिया दिनुहोस्