काठमाडौँ । सिद्धार्थ हस्पिटालिटीले चितवनको सौराहामा लग्जरी रिसोर्ट सिद्धार्थ भिलासा बन्बास दशैँ अगाडि सञ्चालनमा ल्याउने भएको छ । भिलासा सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो ।
सिद्धार्थ बुटिक होटल बौद्धमा आयोजना गरिएको फेस टु फेसु कार्यक्रममा पर्यटन व्यवसायीहरूसँग बोल्दै सिद्धार्थ ग्रुपका अध्यक्ष लक्ष्मण न्यौपानेले उक्त जानकारी दिए । स्थानीय व्यवसायी बासु ढुङ्गानाले निर्माण गरेको रिसोर्टमा सिद्धार्थ ग्रुपले लगानीसहित व्यवस्थापनको जिम्मेवारी लिएको छ । रिसोर्टमा २२ भिल्लामा ३४ रुम रहेका छन् । ‘बर्ड वाचिङ’ थिमलाई प्राथमिकता दिइएको रिसोर्टका कोठाहरू चराको नामबाट नामाकरण गरिएका छन् ।
रिसोर्ट ४ बिघा क्षेत्रफलमा फैलिएको छ । पाहुनाले रिसोर्ट परिसरकै तलाउमा फिसिङ गर्न सक्नेछन् । सौराहाको हात्तीसार नजिकै भएकाले रुमबाटै हात्ती देख्न सकिन्छ । चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेको रिसोर्टले जिप सफारी, हात्ती सफारी, बोट सफारी लगायतका गतिविधि पनि गराउने छ । रिसोर्टमा स्विमीङ पुल, मसाज सहितको स्पा पनि रहनेछ । रिसोर्ट निर्माणमा करिब एक अर्ब लगानीको अनुमान गरिएको न्यौपानेले जानकारी दिए ।
लक्ष्मण न्यौपानेले भारतको रोजगारीबाट फर्केर २५ वर्षअघि कैलालीको टिकापुरमा सानो व्यवसायबाट सुरू गरेको व्यवसाय अहिले विस्तार भएर देशैभर फैलिएको छ ।यस अघि ग्रुपले आफ्नो २५औं वर्षगाँठ पारेर भैरहवामा साढे २ अर्ब रूपैयाँ लगानीमा ग्रुपको पहिलो पाँचतारे होटल सिद्धार्थ भिलासा सञ्चालनमा ल्याएको जनाएको छ। भैरहवाको अञ्चलपुरमा रहेको यो होटल करिब ५ बिघा क्षेत्रफलमा फैलिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत सीईओ कृष्ण न्यौपानेले बताए । सिद्धार्थ हस्पिटालिटीले जुम्ला र इलाममा, एग्रो टुरिजम, थिममा लक्जरी रिसोर्ट, निर्माणको तयारी समेत गरिरहेको छ । जसअनुसार जुम्लामा स्याउ बगानसहितको लक्जरी रिसोर्ट रर इलामको चिया बगानभित्र लक्जरी रिसोर्ट निर्माण तयारी गरेको न्यौपानेले जानकारी दिए ।
ग्रुपले नेपालगञ्ज र सुर्खेतमा चार तारे सिद्धार्थ होटल तथा चन्द्रौटामा लग्जरी रिसोर्ट ,सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्ट, सञ्चालन गरिरहेको छ । चिसापानीको सिद्धार्थ रिसोर्ट, पृथ्वी राजमार्गको चुम्लिङटारको सिद्धार्थ रिभरसाइड रिसोर्ट रहेका छन् । बौद्धको सिद्धार्थ बुटिक होटल, बिर्तामोडको चार तारे स्ट्यान्डर्डको सिद्धार्थ होटल ग्राण्ड सिटी, नुवाकोटको सिद्धार्थ होटल वाटर टावर, टिकापुरको होटल सिद्धार्थ, सुन्धाराको होटल सिद्धार्थ यसै ग्रुप अन्तर्गतका होटल हुन् । बुटवल, नेपालगञ्ज, तिनकुने, घोबिघाट र पुरानो बानेश्वरमा सिद्धार्थ कटेज सञ्चालनमा छन् । ग्रुपले महाराजगञ्जमा २ वटा तथा तिनकुने र नेपालगञ्जमा एक एक वटा गरि ४ वटा एस क्याफेको आउटलेट सञ्चालन ल्याएको छ । सिद्धार्थ हस्पिटालिटीमा २ हजार बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्