Shikhar Insurance
National Life

संघीय कानुन नबन्दा स्थानीय तहले काम गर्न सकेनन्ः नेता सिंह

सिंहदरबार संवाददाता
२०८० भाद्र १०, आईतवार १५:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संघीय कानुन नबन्दा स्थानीय तहले पूर्णरुपमा काम गर्न नसकेको बताएका छन्। नेपाल महिला संघकी संस्थापक स्वर्गीय मङ्गलादेवी सिंहको २७औँ स्मृति दिवसका अवसरमा आज शोभाभगवतीस्थित उनको सालिकमा माल्यार्पण गर्दै नेता सिंहले तीन तहको सरकारलाई सुचारुरुपमा सञ्चालन गर्न आवश्यक संघीय कानुन बनाउन नसकेको बताए।

“संघले आवश्यक कानुन निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाही अघि बढाउन सक्छन्,” उनले भने। पछिल्लो सयम युवा देश छोडेर पलायन भइरहेकाले सरकारले उनीहरुलाई स्वदेशमै काम गरेर खाने वातावरण बनाउनुपर्ने नेता सिंहको भनाइ थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोशी प्रदेशमा भइरहेको आन्दोलनबारे नेता सिंहले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषी देश भएकाले कानुनभित्र बसेर सबै समस्याको समाधान गर्नुपर्ने बताए। एकअर्काबीच हुने मनमुटावलाई सरकारले समाधान गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेता सिंहले नेपालमा राणा शासनको अन्त्य र प्रजातान्त्रिक आन्दोलनलाई अगाडि बढाउनका लागि स्व मङ्गलादेवी सिंहले महत्वपूर्ण भूमिका खेलेको बताए। महिला हक, अधिकारको रक्षाका निम्ति स्व सिंहको महत्वपूर्ण योगदान रहेको उनले उल्लेख गरे। “संविधानले महिलालाई जुन किसिमको अधिकार दिएको छ, त्यो सबै महिला आन्दोलनका कारण भएको हो”, उनले भने।

नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज (कृष्ण) बानियाँले महिलाको हकअधिकारका लागि मात्र नभएर गणेशमान सिंहलाई सर्वोच्च नेता बनाउन मङ्गलादेवी सिंहको ठूलो भूमिका रहेको बताए। कार्यक्रममा कांग्रेस ललितपुरका सभापति जीतेन्द्र श्रेष्ठ, कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

को हुन् मङ्गलादेवी सिंह ?

नेपाल महिला संघकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको जन्म विसं १९८१ मा काठमाडौंमा भएको थियो । विसं १९९७ असारमा उनको विवाह कांग्रेसका संस्थापक नेता एवम् लौहपुरुष गणेशमान सिंहसँग भएको थियो । विस १९९६ मा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहाँनिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय भएकी थिइन्। विस २००४ मा भूमिगत सङ्गठनको रुपमा नेपाल महिला संघको स्थापना उनले गरेकी थिइन्। विस २००७ सालको क्रान्तिमा सिंहको महत्वपूर्ण योगदान छ ।

मङ्गलादेवीलाई २०१७ सालमा पक्राउ गरी पाँच वर्ष कैद गरिएको थियो । विसं २०२५ पछि आठ वर्ष प्रवासमा रहेकी स्व सिंह २०४२ मा सत्याग्रह र २०४६ को आन्दोलनमा पनि सक्रिय भएकी थिइन्। विसं २०४८ प्रतिनिधिसभा निर्वाचनमा उनी पराजित भइन्। सिंहद्वारा लिखित ‘नारी सङ्घर्षका पाइला’ नामक संस्मरणात्मक पुस्तक छ । दुई छोरा र तीन छोरीकी आमा स्व सिंहको २०५३ भदौ १० गते काठमाडौंमा निधन भएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्