Shikhar Insurance
National Life

साउनमा १ खर्ब २९ अर्ब २३ करोडको वस्तु आयात, गत वर्षकोभन्दा पनि घट्यो

सिंहदरबार संवाददाता
२०८० भाद्र ६, बुधबार १७:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा मुलुकको वैदेशिक व्यापार दुई दशमलव २८ प्रतिशतले घटेको छ। गत आवको पहिलो महिनामा एक खर्ब ४६ अर्ब नौ करोड ५७ लाख ६६ हजार रूपैयाँ रहेको वैदेशिक व्यापार यस वर्षको साउनमा एक खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार रूपैयाँ कायम भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कअनुसार गत वर्षको साउनको तुलनामा चालु आवको सोही अवधिमा आयात एक दशमलव ५६ प्रतिशतले घटेर एक खर्ब २९ अर्ब २३ करोड ८९ लाख ७१ हजार रूपैयाँ पुगेको छ । गत आवको पहिलो महिनामा एक खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रूपैयाँको आयात भएको थियो । तथ्याङ्कानुसार साउनमा वैदेशिक व्यापारमा आयातको अनुपात ९० दशमलव ५२ प्रतिशत रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै सार्वजनिक विवरणअनुसार गत आवको पहिलो महिनाको तुलनामा यस आवको सोही अवधिमा निर्यात आठ दशमलव ६५ प्रतिशतले घटेको छ । गत आवको सुरुको महिनामा १४ अर्ब ८० करोड ९७ लाख रूपैयाँको निर्यात भएकोमा चालु आवको समीक्षा अवधिमा १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार रूपैयाँको निर्यात भएको छ । विभागका अनुसार यो अवधिमा कूल वैदेशिक व्यापारमा निर्यातको अनुपात नौ दशमलव ४८ प्रतिशत रहेको छ ।

१ खर्ब १५ अर्बको व्यापार घाटा

विभागका अनुसार चालु आवको पहिलो महिनामा मुलुकको व्यापार घाटा शून्य दशमलव ६६ प्रतिशतले घटेर एक खर्ब १५ अर्ब ७१ करोड तीन लाख १५ हजार रूपैयाँ कायम भएको छ । गत आवको पहिलो महिनामा व्यापार घाटा एक खर्ब १६ अर्ब ४७ करोड ६३ लाख ६५ हजार रूपैयाँ थियो ।

आयातमा सबैभन्दा बढी डिजेल

मुलुकको वैदेशिक व्यापारमा मुख्य रूपमा प्रभाव पार्ने पेट्रोलियम पदार्थ नै यस अवधिमा समेत प्रमुख आयात हुने वस्तुमा परेको छ । विभागको तथ्याङ्कानुसार एक महिनामा सात अर्ब ३४ करोड ७१ लाख २५ हजार रूपैयाँ बराबरको डिजेल आयात भएको छ । यो आयातमध्यकै बढी हो । त्यस्तै यस अवधिमा पाँच अर्ब ४४ करोड ७० लाख ७६ हजार रूपैयाँको पेट्रोल आयात भएको तथ्याङ्कमा उल्लेख छ ।

निर्यातमा सबैभन्दा बढी अलैंची

नेपालबाट निर्यात भएको वस्तुमध्ये गत एक पहिनामा अलैँची सबैभन्दा धेरै देखिएको छ । विभागका अनुसार नेपालबाट रु ९६ करोड ४६ लाख छ हजारको अलैँची निर्यात भएको छ । त्यस्तै चालु आवको पहिलो महिनामा रु ९५ करोड ६६ लाख ३९ हजार बराबरको उनीको गलैँचा तथा कार्पेट निर्यात भएको विभागको तथ्याङ्क छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्