Shikhar Insurance
National Life

नौतले दरबार पुनःनिर्माण अन्तिम चरणमा, लागत १६ करोड 

सिंहदरबार संवाददाता
२०८० भाद्र ६, बुधबार १२:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको पुनःनिर्माण अन्तिम चरणमा पुगेको  छ । चीनले भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि सहयोग उपलब्ध गराएको थियो । सन् २०२२ मा सक्ने गरी सम्झौता भएको नौतले दरबार पुनःनिर्माण कोरोना सुरु हुनुअघि नै ८० प्रतिशत काम सकिएको थियो । विसं २०७६ चैतपछि कोरोनाका कारण काममा समस्या आएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले राससलाई जानकारी दिए।

पुरातत्व विभागले पुनःनिर्माणमा प्राविधिक सहयोग गरेको थियो । पुनःनिर्माणका क्रममा परम्परागत सामग्री उपलब्ध गराउने तथा सुपरिवेक्षणको भूमिका पनि विभागलाई नै दिइएको थियो । विसं २०७६ चैतअघि नै ८० प्रतिशत काम सकिएकामा कोरोना महामारीका कारण बाँकी काम सकेर संरचनाका काम हालै  सम्पन्न गरी भित्री साजसजावट र ग्यालरीको काम भइरहेको उनले जानकारी दिए। करिब एक वर्षमा भित्री सजावट र ग्यालरीका काम पनि सम्पन्न गरी सङ्ग्रहालयकै रुपमा नौ तले दरबार सर्वसाधाराणको अवलोकनका लागि खुला गरिने हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागका पूर्व महानिर्देशक दामोदर गौतमले कोरोना महामारी  शुरु हुनुअघि दातृ राष्ट्रले गरिरहेका काममध्येमा उत्कृष्ट काम छिटो गतिमा भएको बताए। विश्व सम्पदा क्षेत्र भएकाले दरबारको पुरानो स्वरुपलाई नबिगारी क्षतिग्रस्त भागको प्रबलीकरण एवं संरक्षणको काम भएको हो । हाल पुरानै स्वरुपमा नौतले दरबार ठडिएको देखिन्छ ।

करिब १६ करोड लागतमा दरबार पुनःनिर्माण भएको जनाइएको छ । दरबार पुनर्निर्माणका लागि विसं २०७४ साउन ३२ गते शिलान्यास भएको थियो । नेपाल भ्रमणमा रहनुभएका तत्कालीन चिनियाँ उपप्रधानमन्त्री वाङ याङ र नेपालका तत्कालीन उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले  संयुक्त रूपमा दरबार पुनर्निर्माणको शिलान्यास गरेका थिए। दरबार विसं १८२६ मा तत्कालीन राजा पृथ्वीनारायण शाहले निर्माण गराएका हुन्।

सम्झौता अनुसार सन् २०२२ को नोभेम्बरसम्म नौतले दरबार पुनःनिर्माणको म्याद रहेको थियो । समयमा काम नसकेपछि पुनःनिर्माणका लागि म्याद थप गरिएको हो । वसन्तपुर दरबार क्षेत्रमा भूकम्पले क्षति गरेका संरचनाको पुनःनिर्माण अझै सकिएको छैन । यस क्षेत्रका ९५ सम्पदामध्ये ७५ वटामा भूकम्पले क्षति गरेको इञ्जिनीयर रेणु महर्जनले जानकारी दिए। हालसम्म ४२ सम्पदा पुनःनिर्माणको काम सकिएको छ । हाल ११ सम्पदा पुनःनिर्माणको काम भइरहेको छ । २२ सम्पदाको भने अझै पुनःनिर्माण सुरु हुन सकेको छैन । बजेट अभावमा २२ सम्पदा पुनःनिर्माण गर्न नसकिएको इञ्जिनीयर महर्जनले बताए।

नुवाकोट दरबार पुनःनिर्माण जारी

चीनले नुवाकोटको सात तले दरबारको पुनर्निर्माणमा पनि सहयोग गरेको छ । चीनकै सहयोगमा नुवाकोट दरबार क्षेत्रको पुनःनिर्माणको काम पनि भइरहेको जनाइएको छ।

नुवाकोट दरबार क्षेत्रका तलेजु भवानी मन्दिर, गारदघर, रङ्गमहल लगायत सबै संरचना चीन सरकारले नै पुनर्निर्माण गर्दैछ । नुवाकोट दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचिकृत हुने गरी प्रक्रिया अघि बढेकाले चीन सरकारले पुरानो स्वरुपमै निर्माण गरिरहेको विभागले जनाएको छ । नुवाकोटको साततले दरबारको निर्माण पनि पृथ्वीनारायण शाहले नै गराएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्