काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सको बागमती प्रदेशस्तरीय अभिकर्ता प्रशिक्षण तथा सम्मान कार्यक्रम बिजनेस एक्सिलेन्स अवार्ड २०८० सम्पन्न भएको छ ।
होटल क्राउन इम्पेरियलमा आयोजित दुई दिने कार्यक्रमको अवसरमा गत आर्थिक वर्ष २०७९।८० मा उत्कृष्ट व्यावसायिक योगदान गरेका बागमती प्रदेशअन्तर्गतका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको अवसरमा देशभरबाटै दोस्रो र बागमती प्रदेश स्तरमा प्रथम स्थान हासिल गर्न सफल हुनु भएका वरिष्ठ एजेन्सी म्यानेजर कमलप्रसाद जोशीलाई ट्रफीसहित सम्मान गरिएको छ । कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपककुमार श्रेष्ठ, सञ्चालक निष्ठा प्रधानाङ, सजल मास्के, अच्यूत राज सापकोटा र प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले जोशीलाई संयुक्तरुपमा ट्रफी हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नियामकीय प्रावधानभित्र रहेर अभिकर्तालाई सक्दो सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, तपाईंहरुको अझै बढी योगदानले कम्पनीलाई अझै उर्चामा लैजान संभव छ ।
प्रमुख कार्यकारी अधिकृत दिनेशलाल श्रेष्ठले बीमित, अभिकर्ता र सेयरधनी सबैलाई अपेक्षित प्रतिफल दिएर कम्पनीलाई अझै उत्कृष्ट बनाउने प्रयास जारी रहेको बताए ।
उनले भने, सबैले अपेक्षा गरेको प्रतिफल दिलाउनकै लागि हामीले नियामकीय प्रावधानभित्रै रहेर लगानीमा विविधिकरणलाई जोड दिई रहेका छौं, आगामी दिनमा अवश्य पनि यसले नतिजा दिलाउने आशा गरेका छौं ।
पेसागत अभिकर्ता संघ बिमक समितिका उपाध्यक्ष सन्तलाल राईले पर्यटन, जलविद्युत् र निर्जीवन बीमा व्यवसायमा समेत लगानी बिस्तारले कम्पनीको साखमा योगदान पुर्याउने भन्दै खुसी व्यक्त गरे । उनले बिमितले प्राप्त गर्ने बोनस दर आगामी दिनमा अझै बढ्ने विश्वास व्यक्त गरे ।
दुई दिने कार्यक्रमको पहिलो दिन सहभागी अभिकर्ताहरुलाई वरिष्ठ अभिकर्ता तथा प्रशिक्षक मीन घलेले प्रशिक्षण दिएका थिए । करिब दुई सयको संख्यामा अभिकर्ताहरुको सहभागिता रहेको सहभागी अभिकर्ताहरुलाई सम्मानपत्र, ब्याज र मायाको चिन्होसहित सम्मान गरिएको थियो । नायब प्रमुख कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठ, डेप्युटी मार्केटिङ हेड विजय पराजुली, काठमाडौं उपत्यका प्रमुख दिपक राज लेखकलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया दिनुहोस्