काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि चाबहिलबीच बैंकका डेबिट-क्रेडिट कार्ड होल्डरहरुलाई हस्पिटलमा उपचार गर्दा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात बैंकका डेबिट-क्रेडिट कार्ड भएका ग्राहकहरु तथा बैंकका कर्मचारी र कर्मचारीका परिवारलाई हस्पिटलको ओपिडि सेवा, बेड भर्ना, ल्याब टेस्ट, अपरेशन, प्याथोलोजी, फार्मेसी, विभिन्न टेस्ट, डेन्टल सेवा लगायतको अन्य उपचार सेवामा विशेष छुट दिने ब्यवस्था मिलाइएको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पुरानो र प्रतिष्ठित ॐ हस्पिटलमा बैंकका कार्डहोल्डर ग्राहकहरुले उपचारमा छुट पाउनु सकारात्मक भएको बताए । उनले दुवै संस्थाले एक अर्कामा आफ्नो सेवा सहुलितदरमा उपलब्ध गराउन सकिने सम्भावना रहेको बताए ।
हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको ॐ हस्पिटलले एकै छानामुनि आकस्मिक उपचारदेखि सघन उपचार अनि पेन मेडिसिनलगायत अन्य ३७ वटा भन्दा बढी विषयहरुमा विशेषज्ञता सेवा उपलब्ध गराउँदै आइरहेको बताए । यी सेवाहरुमा राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरी अगाडि बढ्न पाउँदा खुसी लागेको महतले बताए ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २ सय ८२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २ सय ६९ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्