गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी वर्ष योजना बैंकमार्फत छनोट भएका योजनामा बजेट विनियोजन गरिने बताएका छन् । प्रदेश समन्वय समितिको बैठकमा उनले स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशको समन्वयमार्फत छनोट भएर आएका योजनामा बजेट विनियोजन गरिने बताए ।
“कुन योजना स्थानीय तह, कुन प्रदेश र कुन संघले गर्ने भन्ने छनोट गर्न योजना बैंक आवश्यक परेको हो”, उनले भने, “ढिलोमा फागुन मसान्तसम्म योजना छनोट गरिसक्ने तयारी छ ।” छनोटमा परेका योजनालाई बजेट विनियोजनमा प्राथमिकता दिइने बताउँदै उनले आगामी वर्ष योजना बैंकमार्फत छनोट भएका योजनामा बजेट विनियोजन गर्ने गरी तयारी गरिएको जानकारी गराए।
गण्डकी प्रदेश सरकारले दोस्रो पञ्चवर्षीय योजना निर्माण गर्न लागेको र सो क्रममा प्रदेशभित्रका ८५ वटै पालिकाबाट सुझाव लिइने मुख्यमन्त्री पाण्डेले बताए । प्रदेश नीति तथा योजना आयोगले दोस्रो पञ्च वर्षीय योजनाको अवधारणापत्र तयार गरेको बताउँदै उनले उक्त अवधारण पत्रमाथि जोकोहीले सुझाव दिन सक्ने बताए । नीति योजना आयोगले जोकोहीले सुझाब दिन मिल्ने गरी अनलाइनबाट तयार गर्ने उनले बताए।
स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशले योजना अनुगमनमा पनि सहकार्य गर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले प्रदेशमार्फत सञ्चालित योजनाको स्थानीय तह, जिल्ला समन्वय समिति र प्रदेशका जनप्रतिनिधिले अनुगमन गर्ने बताए। स्थानीय तह र प्रदेशलाई बलियो बनाउन आम्दानीको स्रोत पहिचान हुनुपर्नेमा उनको जोड छ । मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका मन्त्रीहरू स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्