Shikhar Insurance
National Life

नेपाल ७३ औं भोकमरी ग्रस्त देश

सिंहदरबार संवाददाता
२०७७ चैत्र १८, बुधबार २०:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोना महामारी र अन्य चुनौतीका कारण सन् २०३० सम्म भोकमरी शून्यमा झार्ने भनी दिगो विकास लक्ष्य अनुरुप अन्तर्राष्ट्रिय समुदायले लिएको लक्ष्य प्राप्तिमा ढिलाइ हुने भएको छ ।

विश्वव्यापी भोकमरी सूचांक (जिएचआइ) ले संयुक्त राष्ट्र सङ्घका विभिन्न एजेन्सीद्वारा उपलब्ध गराइएका तथ्याङ्कहरूमा आधारित रहेर तयार गरेको सन् २०२० को प्रतिवेदनले यो तथ्य औँल्याएको हो । यो प्रतिवेदन १३२ देशका तथ्याङ्कहरू मूल्याङ्कन गरी तयार गरिएको हो ।  ललितपुरमा आयोजित एक कार्यक्रममा प्रतिवेदन सार्वजनिकीकरण गरिएको हो । कार्यक्रममा नेपालको स्थितिबारे पनि समीक्षा गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र सङ्घले सन् २०१५ मा नेपाल लगायत अन्य सदस्य राष्ट्रहरूद्वारा दिगो विकासका लक्ष्यहरू अवलम्बन हुने घोषणा गरेको थियो जसमध्ये भोकमरी शून्यमा झार्ने एउटा लक्ष्य हो । यो वर्षको प्रतिवेदनले मानव समुदाय भोकमरी शून्यमा झार्ने लक्ष्यबाट झन् धेरै टाढिएको देखाउँछ । दीर्घकालीन भोकमरीको समस्याले संसारभरका ६९ करोड मानिसलाई प्रभाव पारिरहेको छ भने १३ करोड ५० लाख मानिसले अहिले उपयुक्त पोषण नपाइरहेको अवस्थामा छन् ।

अहिले विश्वव्यापी भोकमरी सूचांक १८।२ छ । सन् २००० को तुलनामा यसमा सुधार भए पनि अझै धेरै सुधार हुन आवश्यक छ । पचास भन्दा बढी देशमा अहिले पनि भोकमरी दर उच्च छ । चौध करोड चार लाख बालबालिका अझै पनि कुपोषणका कारण आफ्नो उमेरभन्दा कम उचाइका छन् । चार करोड सात लाख बच्चाहरू कुपोषणको शिकार भएका छन् र सन् २०१८ मा ५३ लाख बच्चाहरूको पाँच वर्ष नपुग्दै मृत्यु भयो । यसको मुख्य कारण कुपोषण नै देखिएको थियो ।

नेपालको स्थिति सुधारोन्मुख

विश्वव्यापी भोकमरी सूचांकमा नेपाल १०७ देशमध्ये ७३ औं स्थानमा परेको छ । सन् २००० मा नेपालको जिएचआइ सूचांक ३७.४ थियो जुन जोखिमपूर्ण मानिन्छ । तर यो क्रमशः घट्दै सन् २०२० मा १९.५ छ । नेपाल भोकमरी अवस्थामा जोखिमपूर्णबाट गम्भीर हुँदै अहिले मध्यम अवस्थामा आएको छ ।

सन् २००० मा मानिसहरूमा कुपोषणको प्रतिशत करिब २४ प्रतिशत थियो भने सन् २०२० मा ७ प्रतिशत हाराहारी छ । त्यस्तै आफ्नो उमेरका तुलनामा कम उचाइ भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा पछिल्ला बीस वर्षमा नेपालले राम्रो सुधार गरेको छ । सन् २००० मा यस्ता बालबालिकाको सङ्ख्या ५८ प्रतिशत थियो भने सन् २०२० सम्म आइपुग्दा ३७ प्रतिशतमा झरेको छ । नेपालमा आफ्नो उमेर र शारीरिक बनावटको तुलनामा कम तौल भएका पाँच वर्षमुनिका बालबालिकाको प्रतिशतमा भने यी बीस वर्षमा खासै सुधार भएको छैन ।

सन् २०२० को जिएचआइले नेपाल र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोको पोषण अवस्थालाई नजिकबाट नियालेको हो । सन् २००० मा यो संख्या ११ प्रतिशत थियो भने सन् २०२० मा ९ प्रतिशत छ । त्यस्तै नेपालको शिशु मृत्युदर (पाँच वर्ष नपुग्दै मृत्यु हुने) सन् २००० मा ८ प्रतिशत थियो भने २०२० मा ५ प्रतिशत हाराहारीमै छ ।

समग्रमा, द्वन्द्व, गरिबी, असमानता र तीव्र गतिमा भइरहेको जलवायु परिवर्तनका कारण भोकमरी बढिरहेको छ । अझ विश्वव्यापी कोरोना भाइरस महामारी र अफ्रिकी देशहरूमा आएको सलह महामारीका कारण दसौं लाख मान्छे भोकमरीको शिकार हुन सक्ने देखिएको छ ।
राष्ट्रसङ्घले संसारभर अब थप सात लाख बालबालिका भोकमरीको शिकार हुने अनुमान गरेको छ । त्यस्तै न्यून र मध्यम आय भएका देशमा छ करोड सात लाख बालबालिका कुपोषणको शिकार हुने अनुमान छ । कोरोना भाइरसले निम्त्याएका बन्देजहरुका कारण करिब एक लाख तीस हजार बालबालिकाले ज्यान गुमाउन सक्ने अनुमान गरिएको छ ।रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्