काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका लागि उत्पादकत्व र निर्यात वृद्धि गर्नुपर्ने बताएका छन् ।
एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले आज आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्थाः समस्या र समाधान’ विषयक छलफल कार्यक्रममा अध्यक्ष ओलीले आधारभूत आवश्यकता परिपूर्तिका लागि स्वदेशमै उत्पादन वृद्धि गर्न र निर्यातसमेत गर्न आग्रह गरेका हुन् ।
उनले निर्यातका क्रममा कुनै समस्या भए सरकारले सहजीकरण गर्नुपर्ने पनि जनाए । अध्यक्ष ओलीले आर्थिक सामाजिक रूपान्तरणका लागि स्थायित्व, बैंकिङ सहजीकरण र लगानीको वातावरण आवश्यक रहेकोे स्पष्ट गरे ।
कार्यक्रममा पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक स्थितिमा सुधार ल्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्ने बताए । नेपाल सरकारका पूर्वमुख्यसचिव डा विमल कोइरालाले लगानी गरेपछि व्यापारीलाई लाभ लिनसक्ने वातावरण दिनुपर्नेमा जोड दिए । विभागका प्रमुख मोती दुगडले भ्रष्टाचार औद्योगीकरणका लागि बाधक हुने बताए ।
प्रतिक्रिया दिनुहोस्