काठमाडौं । काठमाडौं-तराई–मधेस द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरिएको छ । लागत समय र लागत मूल्य घट्ने गरी द्रुतमार्गको प्रतिवेदन संशोधन गरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिए।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले काठमाडौं–तराई–मधेस द्रुतमार्गको डिपीआर संशोधनको निर्णय गरेको हो । झण्डै दुई अर्ब रूपैयाँ घट्ने र निर्माणको समय पनि घट्नेगरी द्रुतमार्गको डीपीआर संशोधन भएको मन्त्री ज्वालाले बताए। उनले भने, “सुरुङ मार्ग थपिँदा सडकको लम्वाइ र मूल्य दुवै घट्यो ।”
काठमाडौं–मधेस ‘लाइफ लाइन’ का रुपमा रहेको द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ । विसं २०७४ वैशाख २१ देखि निर्माण सुरु गरिएको काठमाडौं–तराई–मधेस द्रुतमार्ग हालसम्म २५ .५४ प्रतिशत मात्र प्रगति भएको र विसं २०८३ साल चैत मसान्तसम्म सक्ने लक्ष्य लिइएको छ ।
द्रुतमार्गको प्रगति कमजोर देखिएपछि मन्त्री ज्वालाले नेपाली सेनासँग असन्तुष्टि जनाए । द्रुतमार्गको काम द्रुतगतिमा हुनुपर्ने भए पनि प्रगति हेर्दा आशावादी नभएको नेपाली सेनाका अधिकारीलाई मन्त्री ज्वालाले बताएका थिए।
प्रतिवेदन संशोधन भएपछि लागत मूल्य पनि घट्ने भएको छ । २ खर्ब १३ अर्ब ९ करोड ५३ लाख रूपैयाँको लागत रहेकामा संशोधनपछि २ खर्ब ११ अर्ब ९ करोड ३० लाख रूपैयाँ आयोजनाको लागत रहने भएको छ ।
प्रतिक्रिया दिनुहोस्