चितवन । ड्रागन फ्रुट्स (सिउँडी फल) यहाँको बजारमा नयाँ फलका रुपमा लोकप्रिय छ । पछिल्लो समय धेरै किसानले रुचाएको यो नयाँ फल फलाउन यहाँका ६० वर्षीय शम्भु सुवेदी निकै मेहनतका साथ लागेका छन्। आफ्नो जीवनको अधिकांश समय नेपाली राजनीतिमा बिताएका सुवेदीको अहिलेको दिनचर्या ड्रागन फ्रुट्स खेतीमा बित्ने गरेको छ ।
बिरुवा उत्पादनदेखि बिक्रीसम्म उनी जुट्दै आएका छन्। रोजगारीको सिलसिलामा युवा विदेश पलायन हुँदै गर्दा उनले व्यावसायिक कृषि गरेर यहीँ सम्भव छ भन्ने देखाएका छन्। भरतपुर महानगरपालिका –७ निवासी सुवेदीले विगत तीन वर्षदेखि दुई बिघा जमिन भाडामा लिएर व्यावसायिक रुपमा ड्रागन खेती गर्दै आएका छन् । यो खेतीसँगै उनले सोही जमिनमा तरकारी, मकै लगायतको खेती गर्दै आएका छन् । सुवेदीले चितवन एकेडेमी फर टेक्निकल कलेजको भरतपुर–७ प्रेमबस्तीमा रहेको जग्गा वार्षिक प्रतिकठ्ठा दुई हजार पाँच सयमा भाडामा लिएर खेती गर्दै आएका छन् ।
उनले अहिले सो जमिनमा सूर्यमुखी फूल, तरकारी र ड्रागनखेती गरेर वार्षिक ५ लाखदेखि ७ लाखसम्म बचत गर्दै आएका छन्। आफु रोजगारीको सिलसिलामा काठमाडौं बस्दा ड्रागन खाएको र सानैदेखि यसको खेती गर्ने सोच भएकाले अहिले त्यसलाई पूरा गर्न आफु लागेको उनले बताए। उनले मलेसियाबाट नेपाल ल्याएर हुर्काएका एक हजार, भियतनामका दुई हजार र भारतको राजस्थानका दुई हजार गरी पाँच हजार बिरुवाबाट खेती गरेका हुन्। सुरुमा उनले मेसियाबाट ल्याइएका बिरुवाबाट खेती थालेका हुन्।
उनले क्रमशः अन्यत्रबाट बिरुवा ल्याएका हुन्। उनले भने “सुरुमा मैले मलेसियाबाट ल्याएको ड्रागनको बिरुवाबाट यो खेती सुरुवात गरेको हुँ ।” सुवेदीले तिनै बिरुवा उत्पादन गरेको एक सय किलो ड्रागन फुट्स गतवर्ष दुबई पठाए। उनले भने, “अहिले पनि कतारमा कुरा भइरहेको छ ।” यसको माग विदेशमा समेत बढ्दो मात्रामा रहेको उनको भनाइ छ । विदेशमा राम्रो माग रहेको जनाउँदै उनले उत्पादन गर्न सके बजारको अभाव नहुने बताए।
सुवेदीको बारीमा अहिले छ प्रकारका ड्रागनका बिरुवा छन् । त्यसमध्ये सेतो र तीन थरी रातो रङ्गको ड्रागनको उत्पादन भइरहेको उनले बताए। अहिले उहाँको बारीमा भियतानाम र अमेरिकाबाट ल्याइएका बिरुवा उत्पादन दिने तयारीमा छन् । उनले भने, “गतवर्ष मैले १० लाखको ड्रागन बेचेको हो, अहिले पनि ३ लाखको फल बिक्री गरिसकेको छु ।”
बिरुवा बेच्न सके नाफा बढ्ने उनको भनाइ छ । गतवर्ष तीन लाख बराबरका बिरुवा बिक्री गरेको सुवेदीले बताए। सुरुवातमा लगानी धेरै लागे पनि अन्य वर्षमा खासै लगानी नहुने उनले जानकारी दिए। बिरुवा रोपेपछि हरेक वर्ष मजदुर, मल र जग्गा भाडामा मात्रै खर्च हुने उनको भनाइ छ ।
विदेशमा यस फलबाट वाइन, साबुन, स्याम्पु, टुथपेष्ट, फेस क्रिम जस्ता मानव जीवनमा आवश्यक प्रसोधित सामग्रीको उत्पादन हुने गरेको सुवेदीले जानकारी दिए। उनले यस खेतीमा एक पटकमा लगानी गरे पछि २५ वर्षसम्म उत्पादन लिन सकिने बताए। उनको तीन वर्षको अनुभवले आफ्नो जमिन हुनेले थोरै ठाउँमा धेरै आम्दानी गर्न सक्छन् । उनले भने “आफ्नो बारी बाझै छाडेर विदेश जानुपर्दैन ।” बिरुवा लगाएको ५/६ महिनाबाट उत्पादन लिन सकिने उनको भनाइ छ ।
वर्षमा १५ देखि २० पटकसम्म एउटै बोटबाट उत्पादन लिन सकिने यो फल विशेष गरी जेठदेखि कात्तिकसम्म उत्पादन हुने गर्दछ । जिल्लामा ५० देखि ६० बिघा क्षेत्रफलमा यो खेती गरिएको अनुमान छ । यहाँको उत्पादन स्थानीय बजार, काठमाडौं, पोखरा लगायतका सहरमा पुग्ने गरेको छ । कतिपय उत्पादन विदेशसमेत जाने गरेको छ । सुवेदी नेकपा (एमाले)को प्रदेश समिति सदस्य छन् । विदेशमा ३०/४० हजार कमाउन जानुभन्दा यही व्यावसायिक कृषि कर्म गर्नु उत्तम हुने उनको सुझाव छ ।
प्रतिक्रिया दिनुहोस्