काठमाडौं । सरकारले निर्माण व्यवसायीलगायत सरोकारवालासँग आवश्यक छलफल, परामर्श र समन्वय गर्नेगरी सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव डा दामोदर रेग्मीको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले विभिन्न विषयगत मन्त्रालयका सहसचिव सदस्य रहने गरी उनको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको जानकारी दिए। उनका अनुसार उक्त कार्यदललाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयहरूले आपसी समन्वयमा यथाशीघ्र माग सम्बोधन गर्न निर्देशन दिएका थिए।
निर्माण व्यवसायीले उठाएका सार्वजनिक खरिदसम्बन्धी कानुन संशोधनलगायतका अन्य मागको सम्बन्धमा प्रधानमन्त्रीले सम्बोधन गर्न दिएको निर्देशनबमोजिम नै कार्यदल गठन गरिएको प्रवक्ता भट्टले बताए ।
प्रधानमन्त्री दाहालको उपस्थितिमा नेपाल निर्माण व्यवसायी महासङ्घका तर्फबाट उठाइएका मागको सम्बन्धमा छलफल भएको थियो । उक्त छलफलमा विषयगत मन्त्रालयका मन्त्री, सचिव तथा सरोकार निकायको सहभागिता थियो । यसैबीच आजै अर्थमन्त्री डा प्रकाशशरण महतले पनि व्यवसायीहरुसँग छलफल गर्दै छन्।
प्रतिक्रिया दिनुहोस्