काठमाडौं । वैज्ञानिक समाज विज्ञान प्रविधिको सहायताले अरू ग्रहहरुमा मानव अस्तित्वको खोजीमा छ । तर नेपाली समाजमा मानवशास्त्रीय अध्ययन पनि राम्ररी हुन सकेको छैन । यसले गर्दा समाजमा पहिचानको संकट अहिलेसम्म देखा पर्ने गरेको छ । “म यो समुदायको हुँ’’ भन्दा पनि पहिचान दिन गाह्रो मान्ने राज्य व्यवस्था अझै छ । यस विषयमा हुम्लाका ‘जाड’ र ‘व्यासी’ का बारेमा सोधखोज गर्न खोजिएको छ ।
हुम्लाको जडान क्षेत्रका भोट्या लामा र तामाङ थर लेख्ने तथा बीच भागमा बसोबास गरेका व्यासी जनजाति हुन् । जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज भएको तर चार वर्णाश्रम व्यवस्थाभित्र नपर्नेहरु जनजाति हुन् । जनजाति नेता सुरेस आलेमगरका अनुसार सामान्यतयाः सामूहिक जीवन पद्धति एवं मातृ सत्तात्मक समाजका केही अवशेषहरु विद्यमान रहेको र हालसम्म पनि पिछडिएको अवस्थामा रहेकालाई जनजाति भनिन्छ । आदिवासी जनजाति महासंघको वर्गीकरणमा भोट्या समुदाय सीमान्तकृत समूह र व्यासी सुविधा बन्चित समूहमा पर्दछन् ।
दरा खोलाको पहिचान
तिल, हल्जी र जाङका तीन गाउँलाई लिम्याल भन्ने गरिन्छ । लिमी नेपालीकरण गरिएको शब्द हो । भोट्या भाषामा लेमी भन्ने हुन्छ । ‘ले’ को अर्थ दुई खोलाको बीच र ‘मी’ को अर्थ मान्छे भन्ने हुन्छ । शाक्य र लिङ खोलाको बीचमा गुम्बापोक नै लेमीको केन्द्र हो । लेमीबासी त्यस ठाउँलाई छाम्जो भन्दछन् ।
ताङ्गिनदेखि केर्मीसम्मका आठ गाउँलाई साठी खोल्या भनिन्छ । सायद यस क्षेत्रमा साठी खोला छन् । याल्बाङदेखि यारीसम्मको सात गाउँलाई सात थपाल्या भनिन्छ । बुराउँस्यादेखि दोजामसम्मका गाउँहरुलाई बार्थपाल्या भन्ने गरिन्छ । विशेष बरगाउँको प्रभावले बर्थपाल्या हुँदै बार्थपाल्या भन्ने गरिएको छ । बराई, रादेउ–फुचा, भुवा–कल्लास र पुमाको चार गाउँलाई चार थपालो भन्ने गरिन्छ । चरिगाउँदेखि नेप्कासम्मका गाउँहरुलाई छविस दरा भन्ने गरिन्छ । दार्म क्षेत्रलाई देउली दरा भनेर चिनिन्छ । गल्बा दरालाई पन्धविस्या भन्ने चलन छ । यस प्रकारले तल्लो क्षेत्रलाई ताँजा मैला दरा भन्ने गरिन्छ । उनापानीदेखि खगालगाउँसम्म स्याँलीपाखा भनिन्छ भने गोप्कादेखि खप्र्याल गाउँसम्मलाई पारी पाखा भन्ने गरिएको छ ।
पुरानो हुम्लाको यो पहिचान अहिले राजनैतिक रुपमा एक सङ्घीय निर्वाचन क्षेत्र, दुई प्रदेश र सात पालिकाको रुपमा चिनाउने प्रयास भएको छ । प्रदेश (क) मा सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट पर्दछन् भने प्रदेश (ख) मा नाम्खा, सिमकोट र खार्पुनाथ पर्दछन् ।
जाड–व्यासीको पहिचान
पूर्व सांसद छक्कबहादुर लामाले पहिचानको सवालमा आफू यार्सागुम्बा जस्तो भएको बताउँदै आएका छन्। उनले आफु छवाङबाट कसरी छक्कबहादुर भएँ भन्ने कुरा लेख्दै र भन्दै आएका छन्। २०८० वैशाख ३ गते नाम्खा गाउँपालिकाको केन्द्र याल्बाङमा मैले नाम्खावासीसँग प्रश्न गरेको थिए, “के भोटका सबै वासिन्दा लामा हुन् ?’’ केर्मी पुग्दा त्यहाँका शिक्षकहरुले गहिरो गरी चासो व्यक्त गरे । तातोपानी आधारभूत विद्यालयका शिक्षकहरु कुन्साङ, पेमा थार्चेन र फुन्जोकले सोही प्रसङ्ग उठाए । छलफलमा केर्मीका पूर्व वडा अध्यक्ष डाब्ला, समाजसेवी कालीबहादुर, स्थानीयवाशी सुनाम दोर्जी र उज्ज्वल थपिए।
भोटका सबै नागरिकलाई अहिलेसम्म सबैलाई लामा र कसैकसैलाई तामाङ लेख्न लगाइएको छ । वास्तवमा लामा त गुम्बाको प्राज्ञिक पद हो । छलफलबाट थाहा भयो कि भोट क्षेत्रमा बसेका लामा र तामाङ थर लेख्नेहरुले आफ्नो पहिचान सहितको थर लेखाउन चाहने रहेछन् । तर प्रशासनले त्यो थरलाई मान्यता नदिदा उनीहरु पहिचान पीडित भएका रहेछन् । यसले आत्म सम्मानमा ठेस लागेको रहेछ ।
त्यसो भए भोट्या समुदायको थर के हो ? भनी सोधखोज गर्नुपर्ने भयो । नाम्खाका बुद्धिजीवी सूर्य लामाका अनुसार मुचु गाउँमा ठकी, टेवा, दार्वा, ग्याल्ग्युतलगायत छन् । धाँ टोलका अनुसार चाला गाउँमा रावा, ग्यालग्युत, दार्वा, टेवा र छत्याल छन् । थुप्देन ग्याप्चो लामाका अनुसार तुम्कोटमा खुन्दुङ, टेवा, ग्याल्ग्युत र भण्डारी छन् । यस्तै यारी र न्याममा रहेको पाइन्छ ।
केर्मीका शिक्षक तथा स्थानीय समाजसेवीहरुले दिएको जानकारी अनुसार याङ्गार गाउँमा टेवा र छत्याल छन् । नाम्खा गाउँपालिकाको केन्द्र याल्बाङमा ग्याल्ग्युत, टेवा र छत्याल छन् । केर्मी गाउँमा टेवा, दार्वा, लुलुकोज्र्या, रावा, ग्याल्ग्युत, धव, पुयुँ, सेरिङ काप्ताक छन् । च्यादुक गाउँमा टेवा र सेरिङ काप्ताक छन् । गारपारीमा टेवा, दार्वा र पुयुँ छन् । हेप्कामा टेवा, दार्वा र पुयुँ छन् । धिगामा दार्वा, टेवा, ग्याल्ग्युत र पुयुँ छन् । तांगिनमा टिउकेवा, ग्याल्ग्युत र पुयुँ छन् । खगाल गाउँमा ग्याल्ग्युत, टेवा, दार्वा र सेरिङ काप्ताक छन् । खोल्सीमा रावा, फुट्व र पुयुँ छन् ।
आफ्नो समुदायको जानकारी टिपोट गरेको देखेर केर्मीका ६० वर्षीय सुनाम दोर्जीले आफु टेवा भएको जानकारी दिनुभयो । आफुहरु तिब्बतबाट आएको संस्कारगत जानकारी दिँदै प्रत्येक वर्ष माघ १५ गते मानी खेल्ने गरेको र त्यस समयमा सातुको पोतला दरवार बनाएर पुजा गर्ने गरेको बताउनुभयो ।
नेपाली नागरिकता बनाउँदा तिल र जाङ गाउँकाले लामा तथा हल्जी गाउँवासीले तामाङ लेख्ने गरेका छन् । लिमी वडाका अध्यक्ष पाल्जोर तामाङका अनुसार लेख्नेले के लेख्यो ? केही थाहा छैन । यसले के काम गर्छ ? त्यो पनि थाहा छैन भनेर अनभिज्ञता प्रकट गरे ।
सिमकोट गाउँपालिकाका प्रथम अध्यक्ष पदमबहादुर लामा र हिमाली भोट्या लामा मोर्चाका नेता नरजङ लामाका अनुसार बुराँउस्यामा दार्वा, टेवा, झेवा, ख्युङ्वा, तोलाम, लासेल र टोङटोत छन् । तोर्पामा झेवा, ख्युङ्बा¸ खाङसार र पाल छन् । लाङ्दुमा लामा र अमलेखी छन् । हुटिकमा पनि त्यस्तै छ । बरगाउँमा छुवा, डुवा र रोकाया छन् । लिमाटाङ, तुम्लिङ, दोजाम र बैजीबाडा गाउँमा दार्वा, टेवा, खन्ज्या, रोकाया, कल्याल र छत्याल छन् । उल्लेखित गाउँहरुमा कहीँ कतै ठकुरी र क्षेत्रीका थर हुनुको खास कारण ती थरवालाहरुले भोट क्षेत्रका महिलासँग विहेवारी गरी बस्नु वा टिमा (अवैध सन्तान) जन्माउनुसँग सम्बन्धित छ ।
भोट्या बस्तीको नाम नेपाली भाषामा लेख्नेहरुले शुद्ध लेख्न नजानेको देखिन्छ । अहिलेको बुराउस्या (टाङसेट), बरगाउँ (पारखाङ), तोर्पा (तोत्पा), लिमाटाङ (न्वयटाङ) हो । कोष्ठमा लेखिएको नाम चाँहि स्थानीय समुदायले भन्ने गाउँको नाम हो । जडान क्षेत्रका गाउँ ठाउँ तिब्बतको विभिन्न ठाउँबाट आई बसेका बस्तीहरु हुन् । बरगाउल्या तिब्बतको पार्का छ्यु, तोर्प्याल कुगा तोत, लिमाटाङी र दोजामी चाङबाट आएका हुन् भन्ने गरिन्छ ।
जसरी केर्मीका कालीबहादुरले आफ्नो थर दार्वा हो भनेर जानकारी दिनुभयो त्यसरी सबैले आफ्नो थर भन्न सकिरहेका छैनन् । जडान क्षेत्रका नेता मध्ये पूर्व सांसद छक्कबहादुरको थर झेवा हो। संविधानसभा सदस्य छिमी दोर्चीको थर तोक्लाम हो । प्रतिनिधिसभा सदस्य छिरिङ डम्डुलको थर खाङसार हो । प्रदेश सभा सदस्य जुम्कितको थर ख्युङ्बा हो । नाम्खा गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाको थर दार्वा हो । सिमकोट गाउँपालिका पूर्व अध्यक्ष पदमबहादुरको थर पनि दार्वा हो । हिमाली भोट्या लामा मोर्चाका नेता नरजङको थर तोक्लाम हो ।
यस्तै पहिचानको संकट व्यासीहरुमा छ । व्यासी समुदायमा भोट्या समुदायको जस्तो थर पहिचानमा समस्या छैन । तर समाजशास्त्रीय अध्ययन अनुसार उनीहरुलाई व्यासी हुन् भनेर वैधानिकता दिइएको छैन। पहिले व्यासीहरुको छुट्टै भाषा थिया, अहिले लोप भएको छ । जन्मदेखि मृत्युसम्मको आफ्नो छुट्टै संस्कार र संस्कृति छ । ठकुरी, बाहुन, क्षेत्री र दलितले गाली गर्दा व्यासी भने पनि जनगणनामा खस क्षेत्रीमा समावेश गर्ने गरेको पाइएको छ ।
यसैले उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट आफू जनजाति भएको बताउँदा पनि आवश्यक सिफारिस पाइरहेका छैनन् । राज्यको नजरमा दार्चुलाका सौका मात्र व्यासी हुन् भन्ने छ । दार्चुलाका व्यासीहरु आफुहरु “रङ’’ भएको बताउँछन् भने हुम्लाका व्यासीहरुले आफुलाई “थपाल्या’’ भन्ने गर्दछन् । यो उनीहरुको क्षेत्रगत पहिचानको शब्दावली हो ।
हुम्लाका व्यासी गाउँहरुमा सिमकोट गाउँपालिकाको स्याँडा र साँतामा बुढा, रोकाया, बोहरा र ऐडी बस्छन् । चरी गाउँमा बुढा मात्र छन् । खार्पुनाथ गाउँपालिकाको गोप्कामा ऐडी, बुढा र रोकाया छन् । रायामा रावल र बुढा छन् । दुर्पामा बुढा, ऐडी र रोकाया छन् ।
सर्केगाड गाउँपालिकाको भुवा कल्लासमा रोकाया छन् । कुतीमा बुढा छन् । बराइमा रोकाया, बुढाथोकी र ऐडी छन् । रोडिकोट जाब्बारामा बुढा छन् । रादेउमा रोकाया¸ ऐडी, बुढा र तामाङ छन् । फुचामा ऐडी र बुढा छन् । चंखेली गाउँपालिकाको पुमामा बुढा, ऐडी र रोकाया छन् । चरिगाउँमा बुढा र शिरा छन् । कोर्कामा बुढा छन् । मेल्छाममा बुढा, शिरा र तामाङ छन् । मेखालमा ऐडी, रोकाय र बुढा छन् । नेप्कामा तामाङ छन् । नेप्काका तामाङहरुले आफूलाई कल्याल र बारकोट्या शाही भएको बताउँछन् ।
अदानचुली गाउँपालिकाको डाँडा पाल्समा बुढा, कटेल र गुरुङ छन् । बारीगाउँमा ऐडी, रावल र बोहोरा छन् । पाल्समा पुन छन् । पुन मगर हुन् । तर व्यासीसँगै बिहेवारी चलाएर बसेका छन् । लिस्याँमा बुढा छन् । ओखाडीमा बुढा छन् । गोरपाटामा कटेल छन् । हिल्सा रुखमा गुरुङ र बुढा छन् । कोटभिटामा बुढा छन् । डमर्कुमा पुन छन् । यसैगरी ताँजाकोट गाउँपालिकाको पाँदामा रोकाया, बुढा, रावल, बोहोरा, ऐडी, बैजी र स्याङ्कु छन् । शेरीमा रोकाया छन् । भदौरामा रावल, बोहोरा र ऐडी छन् । लोटपाटामा बुढा, बैजी र स्याङ्कु छन् । डप्का, चिही र साँतीमा बुढा मात्र छन् । मासपुरमा बुढा र रोकाया छन् ।
भैरहेको पैरवी
विगतमा आफू सानो हुन नचाहन, सानो बनाएको देख्न नचाहने र अनावश्यक विभेद सहने पनि त होइन जस्ता कुराले पहिचानका मुद्दा ओझेलमा परेको थियो । समाजमा पौरख देखाउनेहरुले जात बढाउन पाएको पनि देखेका छौ । मुख्य कुरा राज्य सत्तासँगको पहुँच हुनु र नहुनुसँग सम्बन्धित छ । अहिले अभिव्यक्ति स्वतन्त्रता पाइएको छ । तर अभिलेखीकरण गर्ने र प्रमाणित गर्नेहरुले पहिचानको मर्म बुझेका छैनन् । समाजशास्त्री डोरबहादुर विष्टले ‘सबै जातको फूलबारी’ त्यतिकै लेखेका होइनन् । सम्झना रहोस्, श्री विष्टले खसबारे लेखेको पूर्ववत् धारणा सच्याउने बेला जुम्लाको चौधविश दरा पुगेर पाप पखाल्न पाएको अनुभूति गर्नु भएको थियो । दुःखको कुरा उनी त्यहीबाट हराए। थप कुरा उजागर हुन पाएन ।
हिमाली भोट्या समुदायका लागि भोटे लामा मुक्ति मोर्चा र थपाल्या व्यासी समुदायका लागि थपाल्या व्यासी मुक्ति मोर्चाले समुदायगत हक हितका लागि आवाज उठाइरहेको छ । यस पंतिकारबाट “खस व्यासी थपाल्याको नलेखिएको इतिहास“ प्रकाशित हुँदा धेरैले अचम्म मानेका थिए । थपाल्या व्यासी राष्ट्रिय मुक्ति मोर्चा गठन भएपछि हुम्लामा पनि व्यासीहरु छन् भन्ने बोध सबैतिर भयो । आदिवासी जनजाति आयोगमा सूचिकृत गर्न पहल गर्नेदेखि विभिन्न मञ्चमा थपाल्या व्यासी समुदायको हक हितका पक्षमा पैरवी गर्ने काम भईरहेको छ ।
अझै पनि भोट क्षेत्रका जाडहरुले निर्बाध रुपमा आफ्नो थर उल्लेख गर्ने वातावरण बनेको छैन । यस्तै आफ्नो पहिचानले वैधानिकता नपाउँदा थपाल्या व्यासीहरुले पाउन सक्ने सेवा सुविधाबाट बन्चित भएका छन् । हुम्लामा जनजाति भनेका लामा मात्र हुन् भन्ने पनि भ्रम छ । वास्तवमा भोट्या समुदाय दुई पालिकाको २१ गाउँमा बसोबास गरिरहेका छन् भने उनीहरुको करिव सात हजार जनसङ्ख्या रहेको छ । यस्तै व्यासीहरु छ गाउँपालिकाको ३८ गाउँमा बसोबास गरिरहेका छन् । उनीहरुको जनसंख्या करिव १६ हजार रहेको छ ।
योगी नरहरिनाथका अनुसार कुनै जमानामा कर्नालीको हिमाली क्षेत्रमा वन मान्ठ (मान्छे), पहाडमा कुसुन्डा र तल महाभारत क्षेत्रतिर राउट्याको बसोवास थियो । आज उनीहरुमध्ये एक हुल राउट्या मात्र जीवित छन् । हामी मानव जातिको कुरा गर्नेहरुले सुरुमा पहिचान दिन अभिप्रेरित गर्छौ र गर्नुपर्छ । यसका लागि हरेक क्षेत्रबाट माथि उठाउन समावेशी तथा समानुपातिक प्रतिनिधित्व गराउन लगाउँछौँ । उनीहरु र अरू समुदायको बीचमा समुदायगत भिन्नताकै कारण उचनिच छ भने त्यो व्यवहार मेटाउन चाहन्छौँ । यसैले समुदायले चाहेको पहिचान दिनलाई सम्बन्धित अधिकारीहरु किन अलमल छन् ? (लेखक नेपाल विकास अनुसन्धान प्रतिष्ठानका सदस्य हुन्)
प्रतिक्रिया दिनुहोस्