Shikhar Insurance
National Life

सुशासन र पारदर्शिताका लागि मर्यादित लेखा व्यवसाय आवश्यकः अर्थमन्त्री डा. महत

सिंहदरबार संवाददाता
२०८० श्रावण २१, आईतवार १२:२८
Hyundai
NCELL
NIMB

काठमाडाैं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सुशासन र पारदर्शिताका लागि मर्यादित लेखा व्यवसाय आवश्यक रहेको बताएका छन् ।

नेपाल अडिटर्स एसोसिएसन (अडान)को १८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. महतले लेखा (एकाउन्टिङ) लेखापरीक्षण (अडिटिङ) आर्थिक सुशासनसँग जोडिएको विषय रहेको बताएका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“आर्थिक पारदर्शिताको सुनिश्चिताका लागि अकाउन्टिङ र अडिटिङको महत्वपूर्ण भूमिका रहन्छ । हरेक क्षेत्रमा हिसाबकिताब चुस्तदुरुस्त छ वा छैन भनेर हेर्ने जिम्मेवारी अडिटरको हुन्छ”, उनले भने।

कोभिड–१९ महामारीयता अर्थतन्त्रमा एकपछि अर्को समस्या देखिँदै गए पछि पछिल्लो समय सुधारका सङ्केत देखिएको भन्दै उनले सरकारले वित्त तथा मौद्रिक नीतिमार्फत अर्थतन्त्र सुधारका लागि अधिकतम प्रयास गरेको दाबी गरे।

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि मौद्रिक नीतिमार्फत केही महत्त्वपूर्ण प्रयास थालिएको पनि उनको भनाइ छ । “अर्थतन्त्रमा समस्या थियो र केही समस्या अझै पनि छन् । त्यसको सम्पूर्ण समाधान मौद्रिक नीति मात्रै होइन”, उनले भने, “मौद्रिक नीतिमा हामीले खुकुलोपन र सहजता खोजेका थियौं । केही सम्बोधन भएको छ । तर निजी क्षेत्रले खोजेजस्तो अझै भएको छैन ।”

अर्थमन्त्री डा. महतले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शन संशोधन गर्ने बताइसकेकाले चाँडै त्यसबारे निर्णय हुनेमा विश्वास व्यक्त गरे।

बैंक तथा वित्तीय क्षेत्रमा तरलता बढाउने, लगानी वृद्धि गर्नेलगायतका सुधारका लागि उचित वित्त नीति र मौद्रिक नीतिको अवलम्बन भएको पनि उनको दाबी छ । सरकारले लक्ष्यअनुसार पुँजीगत खर्च गर्न नसक्दा पनि अर्थतन्त्रमा समस्या देखिएको उल्लेख गर्दै अर्थमन्त्री महतले चालु आर्थिक वर्षमा पुँजीगत खर्च लक्ष्यअनुसार नै हुनेमा आशावादी रहेको बताए।

“पुँजीगत शीर्षकमा हामीले बजेट धेरै राख्न सकेनौं । तर, छुट्याइएको बजेटलाई पूर्णरुपले खर्च गर्न सक्यौँ भने यसले अर्थतन्त्रमा तरलता बढाउँछ”, अर्थमन्त्री महतले भने ।

कोभिड महामारीका कारण लामो समयसम्म पनि मुलुकको अर्थतन्त्रमा सुधार हुन नसकेको उल्लेख गर्दै अर्थमन्त्री महतले महामारीको नकारात्मक प्रभाव अहिलेसम्म देखिइरहेको बताए। अर्थतन्त्र सुधारोन्मुख रहेको र विगतमा सरकारबाट भएका केही गलत निर्णयका कारण अहिले धेरै दायित्व थपिएको पनि उनको भनाइ छ ।

“धेरै कुरा हामी घोषणा गर्छौं तर त्यो घोषणाको अन्तरनिहीताको गम्भीरतामा हामी सोच विचार गर्दैनौं । त्यस्ता घोषणाले आइपर्ने दायित्व हेर्दैनौं । जसले गर्दा धेरै समस्या आएको छ”, अर्थमन्त्री डा महतले भने, “विचार नपुर्याई गरेका निर्णयले समस्या बढेका छन् । यसलाई सफा गर्न समय लाग्छ । हामीले सफाइको सुरुआत गरिसकेका छौं ।”

नेपाल अडिटर्स एसोसिएसन (अडान)ले आज आफ्नो १८औं स्थापना दिवससँगै ‘अडान डे’ पनि मनाएको छ । अडान डेका अवसरमा आज आयोजित कार्यक्रममा विभिन्न तीनवटा विषयमा कार्यक्रम प्रस्तुत भएका थिए ।

करका दरमा बारम्बार हुने परिवर्तनले लगानीमा परेको जोखिम, साना तथा मझौला निकायमा वित्तीय प्रतिवेदनमा वर्तमान अवस्था र आगामी कार्य र पछिल्लो आर्थिक स्थिति मौद्रिक नीतिको व्यवस्था विषयमा कार्यपत्र प्रस्तुत भएका थिए ।

अडानका अध्यक्ष केदारनाथ पौडेलले प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सिटिइभिटी)बाट नेपाल अडिटर्स एसोसिएसनलाई व्यावसायिक लेखा व्यवसाय (प्रोफेसनल अकाउन्टेन्ट)को छोटो अवधिको तालिम कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त भएको बताए। यसले अकाउन्टिङ व्यवसायलाई थप मर्यादित र जिम्मेवार बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको उनको भनाइ छ ।

‘अडान डे’का अवसरमा रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्