काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडद्वारा सञ्चालित स्मार्ट क्युआर नेटवर्कमा आबद्ध मर्चेन्टहरूले एलईडी बोर्डमा क्युआर भुक्तानीको रियल/टाइम अलर्ट प्राप्त गर्न सक्ने भएका छन् ।
क्युआरमार्फत हुने भुक्तानी वृद्धि हुँदै गइरहेको समयमा कारोबार भएपछि कारोबार पूर्ण भएको जानकारीको लागि कुर्न पर्ने बाध्यता थियो । टेलिकम नेटवर्कमा समस्या आउँदा वा एसएमएस प्राप्तिमा ढिलाइ हुँदा तथा कहिलेकाहीँ एसएमएस प्राप्त नहुँदा मर्चेन्टहरूलाई कारोबार पूरा भएको यकिन गर्न कठिन भइरहेको थियो । साथै ग्राहकहरूको चाप धेरै भएको मर्चेन्ट लोकेसनमा एसएमएसमार्फत कारोबारको यकिन गर्दा समय खेर जाने समस्या थियो ।
त्यसैगरी एसएमएस प्राप्त हुन नसकेको अवस्थामा कारोबार यकिन गर्न नसक्दा ग्राहक तथा मर्चेन्ट दुवै लाई अप्ठ्यारो भइरहेको थियो । एस सिटिले मर्चेन्टहरुलाई मोबाइल तथा वेब लगइन मार्फत पनि कारोबार हेर्न, पैसा जम्मा तथा फिर्ता गर्न मिल्ने सुविधा सुरुवाती दिनहरू देखिनै दिँदै आइरहेको छ । सोही कारोबारको अलर्ट प्राप्तिकै लागि मोबाइल तथा वेब लगइन चलाई राख्न समेत कारोबार धेरै हुने ठाउँहरूमा झन्झटिलो तथा समय खर्चिनुपर्ने परिस्थिति थियो ।
अब एलईडी स्क्रिनमा कारोबार भए लगत्तै कारोबारको रकम देखिने हुँदा कारोबार पूर्ण भए नभएको सहजै यकिन गर्न सकिने कम्पनीले जनाएको छ । एलईडी स्क्रिन जडान गर्न सजिलो र सरल पनि रहेको छ । यसलाई एस सिटिले प्रदान गर्ने मोबाइल एप्लिकेसन द्वारा सजिलै कन्फिगर गर्न सकिने जनाइएको छ । स्मार्ट क्युआरमा आबद्ध बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरूद्वारा स्मार्ट क्युआरमा दर्ता भएका कुनै पनि मर्चेन्टहरूले यो सुविधा लिन सक्नेछन् । मोबाइल एपद्वारा नै नेटवर्क तथा स्क्रिनको ब्राइटनेश पनि मिलाउन सकिने कम्पनीले जनाएको छ ।
पाथीभरा सेन्सर सोलुसनको सहकार्यमा स्मार्ट च्वाइस टेक्नोलोजीले यो सेवा सुरु गरेको हो ।
प्रतिक्रिया दिनुहोस्