काठमाडौं । सभामुख देवराज घिमिरेले सामुदायिक विद्युत्का अभियानकर्मीहरूलाई स्थानीय तहमा विद्युत् खपत हुने उद्योग स्थापना गर्ने काममा लाग्न आग्रह गरेका छन्।
सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९औँ स्थापना दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उनले समुदायलाई सङ्गठित गरेर दूरदराजलाई उज्यालो बनाउन गरेको भूमिकाको प्रशंसा गरे।
“दुई वर्षभित्र सबैलाई विद्युत् सेवा पुर्याउने सरकारी नारालाई सार्थक बनाउन महत्त्वपूर्ण काम गर्ने अभियानमा महासंघ क्रियाशील होस्, उत्साहका साथ ग्रामीण जनताका बीचमा उज्यालो छर्नेमा मात्रै होइन, स्थानीय तहमा उद्योग स्थापना गर्ने काममा लाग्नुस्, त्यसका लागि आउने अप्ठ्यारो आफ्नो ठाउँबाट समाधान गर्न लागि पर्नेछु”, सभामुख घिमिरेले भने, “सामुदायिक हितमा ऐन बनाउने कुरा विधेयकलाई अगाडि बढाउने क्रममा बहस तथा छलफल गर्ने, सरोकारवालासँग आवश्यक समन्वय गर्ने काममा प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।”
पूर्वऊर्जामन्त्री दीपक ज्ञवालीले नेपाल विद्युत् प्राधिकरणले गरेको कामभन्दा सामुदायिक विद्युत्ले गरेको काम सस्तो रहेको बताए। “आफूसँग भएको विद्युत् सस्तोमा भारतलाई बेचेर महँगोमा किन्ने सरकारी नीति छ, यसले हामीलाई परनिर्भर बनाउँछ । जसले सामुदायिक विद्युतीकरण मासिन्छ”, उनले भने।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री उमेश श्रेष्ठले नेपालको समृद्धिको आधार विद्युत् भएको बताए। “ऊर्जा क्षेत्रको पहिलो आधार विद्युत् हो । विद्युतीकरणमा प्राधिकरणले मात्रै सबै काम गर्न सहज छैन, अर्कोतिर नीति नै अप्ठ्यारो छ । यसले समस्या पारिरहेको छ । विद्युतीकरणमा निजी क्षेत्र र समुदायलाई पनि सहभागी गराउनुपर्छ, एक मेगावाटसम्म स्थानीय समुदायलाई दिनुपर्छ”, उनले भने। उनले पेट्रोल र ग्यास खरिदमा वार्षिक ३ खर्ब र कृषिजन्य सामग्री खरिदमा ४ खर्ब बाहिरिने उल्लेख गर्दै साना आयोजना सामुदायिक विद्युत् संस्थाहरूले बनाउनुपर्ने बताए।
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री सूर्यमान दोङले सामुदायिक विद्युतीकरणले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। उनले सामुदायिक विद्युत्का क्षेत्रमा उत्कृष्ट व्यवस्थापन गर्ने सोच र क्षमता विकास होस् भन्दै पार्टीका तर्फबाट गर्नुपर्ने काममा सधैँ सहयोग हुने बताए।
जनता समाजवादी पार्टी (जसपा) का नेता प्रदीप यादवले सामुदायिक विद्युतीकरणबाट देशका हरेक ठाउँमा सहजरूपमा विद्युत् पुगेको बताउँदै कमजोरीलाई सुधार गर्दै यसमा लागेका संस्थाहरूलाई स्थापित गर्नुपर्ने धारणा राखे।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सामुदायिक अभियानले ग्रामीण विद्युतीकरणमा सराहनीय काम गरेको बताए। उनले दुई वर्षभित्र सबैलाई विद्युत् पुर्याउने नेपाल सरकारको उद्देश्यअनुरूप नेपाल विद्युत् प्राधिकरणले काम गर्न नसकेको स्थानमा लघुविद्युत्का कार्यहरू वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले गरिरहेको जानकारी दिए।
नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक रामजी भण्डारीले विद्युतीकरणमा सामुदायिक संस्थाहरूको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सामुदायिक संस्थाले नगरेको भए हालसम्म यति धेरै प्रगति हुँदैनथ्यो भन्ने धारणा राखे। उनले विद्युत् खपत बढाउनुका साथसाथै निर्यातमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको बताउँदै सामुदायिक विद्युत् संस्थामार्फत भरपर्दो सेवा दिने प्रयत्न गर्न आग्रह गरे।
अर्थविज्ञ रत्नसंसार श्रेष्ठले सात सय ५३ वटै स्थानीय तहमा औद्योगिक ग्राम स्थापना हुने गरी विद्युत्को प्रवाह गराउन आग्रह गरे। उनले स्वदेशमै विद्युत् खपत हुने अवस्था सिर्जना गर्न आग्रह गरे। गैरसरकारी संस्था महासंघका अध्यक्ष रामप्रसाद सुवेदीले नागरिक संस्थाले राजनीतिक दलसरह काम गरेका छन् भन्दै सामुदायिक विद्युत्, सामुदायिक वनसँग सम्बन्धित संघसंस्थाले महत्त्वपूर्ण काम गरेको धारणा राखे।
महासंघका सल्लाहकार तथा पूर्वमहासचिव रामकृष्ण हुमागाईंले २०६१ साल माघ २९ गते सामुदायिक विद्युत्का १८ वटा संस्था मिलेर डिल्ली घिमिरेको संयोजकत्वमा महासंघको तदर्थ समिति गठन भएको जानकारी दिए।
महासंघका अध्यक्ष नारायण ज्ञवालीले विसं २०५८ मा सामुदायिक विद्युत् कार्यक्रम सुरु हुँदा देशका ५७ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएकामा हाल ९५ प्रतिशत विद्युतीकरण भएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्