आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालि अर्थात् ब्रोकर न. ५७ का प्रबन्ध सञ्चालक हुन् गुणनीति भुसाल । डेढ दशकदेखि नेपालको पुँजी बजारमा सक्रिय भुसालका नजरमा हाम्रो पुँजी बजारमा ट्रेडरहरु हावी भैरहेका छन् । नेपाल राष्ट्र बैंकले छिटोछिटो बदल्ने मौद्रिक नीतिका पोलिसीहरुले पनि बजारलाई अस्थिर बनाईरहेको छ । अहिलेको बजार कस्तो छ र अब कता जाला ? यीनै विषयमा सिंहदरबारले गरेको कुराकानीको सम्पादित अंश ।
तपाईंहरु हरेकपल्ट पुँजी बजार कता जान्छ भनेर आममान्छे वा लगानीकर्ताले जिज्ञासा राख्दा बालुवाटार तिर यसो आँखा लगाउनु हुन्छ हात देखाउनु हुन्छ राष्ट्र बैंकले केही नगरे नेपालको पुँजी बजार बड्दैन घट्दैन यस्तो किन भएको ?
हाम्रो पुँजी बजारमा मूलतः केही चिजहरु फन्डामेन्टली चल्छ । हामीले खास गरी पुँजी बजारलाई सप्लाई र डिमान्डको बजार पनि भन्छौं । सप्लाई बढी हुँदा बजार घट्छ, डिमान्ड बढी हुँदा बजार बढ्छ, बजारको फन्डामेन्टल यही नै हो । अब त्यो सप्लाई र डिमान्ड बढाउने र घटाउने बिभिन्न कारण मध्यपोलिसी एउटा कारण हो । पोलीसी कसले गर्छ तभन्दा बजेटमार्फत अर्थ मन्त्रालयले गर्ने भयो । तर, हाम्रो पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाहरुको बर्चश्व छ । राष्ट्र बैंकले अघि सार्ने पोलिसीहरुको प्रत्यक्ष रुपमा पुँजी बजारमा असर देखिन्छ । अर्को कोणबाट हेर्ने हो भने बजारमा पैसाको सप्लाई राष्ट्र बैंकले छोडिदिँदा बजार बढ्छ, जब सप्लाइलाई कन्ट्रोल गर्छ, धितोपत्रको डिमान्ड घट्छ, त्यसकारण हाम्रो पुँजी बजारमा राष्ट्र बैंकको पोलीसीले प्रत्यक्ष रुपमा असर गरेको देखिन्छ ।
तपाईंले डिमान्ड र सप्लाई भन्दै हुनुहुन्छ, तर बजारमा कति किन। बेचमा राख्ने भन्ने कुरा त तपाईं ब्रोकरहरुको हातमा पनि हुन्छ, भन्छन् ?
यो पनि सप्लाई र डिमान्डकै कुरा हो । यो त फ्युचर मार्केट पनि हो । केही मान्छेले भोलि भविष्यको मार्केट पनि हो भनेर नबेची राख्न सक्छन् । कसैलाई आजै पैसा चाहिएको रहेछ भने बेच्ने अर्डर राख्छ । त्यो बजारको आवश्यकताअनुसार नै चल्ने विषय हो । कसैले सेयर बेच्ने अर्ड राख्दा खरिद गर्नेहरुको संख्या कम भयो भने बजार घट्छ, बेच्ने थोरै किन्ने धेरै भए भने चाहिँ बजार बढ्ने हो । यसमा कसैको हात हुन्छ भन्ने कुरा नै गलत हो । यो त बजारको स्वचालित प्रणाली हो । माग र सप्लाइलाई निर्धारण गर्ने पक्षहरुले नै बजारको उतारचढाव निर्धारण गर्ने हो ।
तर, बजार त आफ्नो स्ट्रेन्थअनुसार चल्नुपर्ने थियो, जहिले राष्ट्र बैंकले पोलिसि के ल्याउँछ भन्ने आधारमा थप घटबढ हुने बजार त के परिपक्क भयो र ? होइन् ?
हाम्रा मूल पोलीसीहरुमा केही स्थिरता हुन्थ्यो भने बजार पनि परिपक्क हुँदै जाने थियो । जस्तो मौद्रिक नीतिमा ऋणको मार्जिन कहिले ७० त कहिले ५० गरेको छ । जब मार्जिन ७० पुग्यो बजार बढ्थ्यो । ५० मा झारेका बेला बजार घटेको छ । अहिले राष्ट्र बैंकले जोखिम भारको विषयलाई जोड दिएको देखिन्छ । जोखिम भार बढी हुँदा बैंकहरुको ऋण घट्छ । त्यसले बजार नै घटाउने हो ।
ब्रोकरहरुले मार्जिन ट्रेडियो चाहियो भन्नुहुन्थ्यो, त्यसले बजारलाई दिगो बनाउँछ ?
यो हामीले अहिलेसम्म मागिरहेको विषय हो । हामीले लाइसेन्स पनि लिएका छौं । तर, धितोपत्र बोर्डको मार्जिन नियमावलीमा एउटा प्राविधिक समस्या छ । हाम्रो टिएमएसमा एउटा व्यक्तिको दुई केवाइसी खोल्न सकिन्न । मार्जिन नियमावलीले छुट्टै केवाइसीको परिकल्पना गरेको छ । नेप्सेसँग नगदमा किनने र मार्जिनमा सेयर किन्नेहरुलाई छुट्याउने व्यवस्था गर्न अनुरोध गरेका थियौं, त्यो पनि भएन । नेप्सेले केही कम्पनीहरु मार्जिन ट्रेडिङका लागि छुट्याइदिएको छ तर लगानीकर्ताले ति कम्पनीहरुमा लगानीको सुरक्षा देखेनन् ।
अर्काे कुरा हामीले राष्ट्र बैंकसँग एउटा स्रोत व्यवस्थापनमा सहयोग गर्न भन्यौं । त्यो काम पनि अघि बढेको छैन् । मार्जिनको सेयरलार्य बास्केटमा राखेर बैंक तथा वित्तीय संस्थाहरुबाट फण्ड व्यवस्थापन गर्ने भनेका थियौं ।
तपाईं पुराना ब्रोकरहरुले नयाँ ब्रोकरलाई आउन नदिनका लागि मार्जिन कारोबारमा अनिच्छा देखाएको भन्ने आरोप पनि छ, कुरा के हो ?
यसमा कुनै समस्या थिएन र छैन पनि । हामीले मार्जिन कारोबार अघि बढाउन चाहेकै हौं । तर, हाम्रो कुरा नियामकले नबुझेकाले नै यसमा समस्या भएको हो । हाम्रा मागहरुमा नियामकले जोखिम देख्यो जस्तो लाग्यो । अहिले पनि छलफलहरु भैरहेका छन् । अब केही प्रगति होला । अर्काे कुरा नयाँ ब्रोकरहरु आउँदा हामीलाई कुनै समस्या छैन् ।
बजारको उतार चढावमा कुन-कुन पक्षको भूमिका रहन्छ ?
मूल कुरा त सप्लाई र डिमाण्ड नै हो । नम्बर अफ सेयर एउटा पक्ष हो । थोरै सेयर संख्या हुनेले पनि भूमिका खेल्छ । कम्पनीको प्रतिफलको पनि भूमिका हुन्छ । नाफा, इपीएस, आरओईले पनि भूमिका खेल्छ । अर्काे कुरा भनेको बैंकको ब्याजदर पनि हो । न्यून ब्याजदरका समयमा सेयर बजार बढ्छ । कम्पनीहरुको बिजनेस योजनाले पनि भूमिका खेल्छ । सरकार, धितोपत्र बोर्ड, नेप्सेको पोलिसीले पनि भूमिका खेल्छ ।
वर्षाैंदेखि लाभांश नदिएका कम्पनीहरुको सेयर मूल्य पनि त धेरै माथि छ नि त ?
कसैले नाफाका हिसाबले सेयरको मूल्य बढाउन सक्छ । केहिले सेयर होल्ड गरिदियो भने पनि भाउ बढ्छ । साधारणसभा नगरेका कम्पनीहरुको पनि रिजर्भमा पैसा हुन सक्छ । भोलि राम्रो लाभांश आउँछ भनेर पनि लगानीकर्ताको रोजाइमा पर्न सक्छ । कुनै कम्पनीले भोलिका दिनमा धेरै राम्रो बिजनेस गर्छ भन्ने आशा पनि हुन सक्छ । केही कम्पनीहरुको ब्यालेन्स सिटमा राम्रो नहुँदा-नहुँदै पनि थोरै मात्र सेयर सूचीकृत भएकाले मूल्य बढ्दै गएको हुन्छ ।
१० कित्ते नीतिले सेयर टुक्रिएकाले सप्लाई कम भएर बजार भाउ बढेको हो कि ?
त्यसलाई टिएमएस प्रणालीमा हेर्नुपर्छ । सूचीकृत भएका केही दिनसम्म सेयर लगातार बढ्न जान्छ । एक सय रुपैयाँको सेयर ६/७ सय पुग्छ, त्यसपछि भने बेच्न थालिन्छ । यहाँ ब्रोकरहरुले त्यत्तिकै खरिद अर्डर गरेर बजार बडाउँदैनन् । यही फण्डामेन्टमा बजार अघि बढ्ने हो ।
बजार फण्डामेन्टल हो कि टेक्निकल ?
बजार त फण्डामेन्टल नै हो । बजार पहिला फण्डामेन्टल हुन्छ, त्यसपछि मात्रै टेक्निकल हुने हो । पोलिसीहरु दिर्घकालसम्म चल्ने हो भने बजारमा टेक्निकल धेरै मिल्थ्यो । हाम्रोमा छिटो छिटो पोलिसीहरु बदलिने भएको हुनाले हामीले फण्डामेन्टल हेरेरै अघि बढ्नुपर्छ ।
फण्डामेन्टल र टेक्निकल पक्ष हेरेर आफ्नो पोर्टफोलियो कसरी व्यवस्थापन गर्ने हो ?
आजका दिनमा बजारको मूल्य सुनिश्चित छ । आजको सेयरको मूल्य सबैलाई थाहा छ । भोलीको कम्पनीको भविष्यको अनुमान गर्ने हो । त्यसका लागि कम्पनीको बिजनेस, देशको अवस्था, अन्तराष्ट्रिय अर्थतन्त्र, नियामको पोलिसीहरु हेर्ने हो । ति ठिक अवस्था रह्यो भने कम्पनीको मूल्य बढ्यो हो नत्र घट्ने हो ।
बजारको गेनर र लुजर को हुन् ? सेयर बजार भनेको त एउटालाई फसाएर अर्काेले कमाउने भन्ने जस्तो पनि छ ?
मार्केटको गेनर भनेको रियल इन्भेष्टर्स नै हो, जसले कम्पनीमा लगानी गरेर दीर्घकालसम्म कम्पनीबाट प्रतिफल लिन्छ । र, भ्यालुएड भैसकेपछि पिक बजारमा एक्जिट हुन्छ । ऊ नै रियल कमाउने मान्छे हो । जो ट्रेडर हुन्छ, उसले छोटो अवधिमा किन्छ र बेच्छ, मुनाफा पनि गर्छ । हाम्रो जस्तो छिटो छिटो पोलिसी फेरिने बजारमा ट्रेडरहरु कहिलेकाहीँ फस्न पनि सक्छ । तर बजारबाट कमाउने भनेको चाहिँ इन्भेष्टर्सले नै हो ।
तर, पछिल्लो केही वर्षदेखि हाम्रो बजारमा ट्रेडरहरु हावी भैरहेका छन् । कम्पनीको बिजनेश हुँदाहुँदै पनि बजारमा नयाँ नयाँ ट्रेडिङ उपकरणहरु भएनन् । त्यसले गर्दा कमाईलाई पनि अर्काे तिर सार्ने विकल्प भेटिएका छैनन् । इक्वीटीमा कमाएको पैसालाई कन्भर्जन गर्ने अप्सन नै भएन । ऋण पत्र, अक्सन मार्केट, फ्युचर मार्केट पनि छैन यहाँ।
फेरि पनि बजारमा केही मान्छेलाई नफसाई अरुले कमाउनेचाहिँ सक्दैनन् ?
ट्रेडिङमा चाँही हुने यही नै हो । तर, बजार भनेको ट्रेडिङ मात्रै होइन् । वर्षाैंदेखि यही बजारबाट कमाइरहेका इन्भेष्टर्सहरु पनि त यहीँ छन् ।
प्रोफेसनलचाहिँ इन्भेष्टर्स हुन कि ट्रेडर ?
प्रोफेसनल त ट्रेडर नै हुन् । कमाउन पनि यीनैले कमाउँछन् र गुमाउनेहरु पनि यिनै हुन् । इन्भेष्टर्सहरुले यो बजारमा गुमाउँदै गुमाउँदैनन् । हेर्नुस् त पाँच वर्ष अघि कम्पनीको मूल्य कति थियो ? अहिले कति छ ? इन्भेष्टर्सले त पाँच वर्षदेखि लाभांश पनि पाइरहेको छ, सेयरको मूल्य पनि बढेको छ । उसले त निरन्तर कमाइरहेकै छ नि ।
कति इन्भेष्टमेन्ट गर्ने ? कति ट्रेडिङमा लगाउने ?
केही पैसा लगानी(इन्भेष्टमेन्ट) गर्नुपर्छ । इन्भेष्टमेन्टको क्षेत्र बलियो भए पछि ट्रेड तिर पनि लाग्ने हो । ट्रेड भनेको त बेला मौकामा आउँछ । क्वीक डिसिजन गर्न सक्ने मान्छेले ट्रेडमा पनि पैसा बनाउन सक्छ । इन्भेष्टर्सले भन्दा छिटो पैसा कमाउन सक्छ । तर, उसले बजारको मुभमेन्ट चिन्न सक्नुपर्छ । बजार तल पुगेको बेला बजारमा छिरेर पिकमा पुगेका बेला एक्जिट हुने स्किल चाहिन्छ ।
तर, बजार त फेरि पनि मेनुपुलेसनमै चल्ने रहेछ नि ?
संसार भर नै मार्केट केही न केही मेनुपुलेट त हुन्छ नि । यसमा बिभिन्न पक्षहरुले भूमिका खेलेका हुन्छन् । ट्रेडरहरुले आफूले सेयर किनेपछि बजारमा फलानो कम्पनीको मूल्य यति पुग्छ भनेर हल्ला चलाउँछन् । कहिलेकाहीँ कम्पनीहरुको नाफा, लाभांश र बिजनेस योजना थाहा पाएका पनि हुन्न सक्छन् । तर, ट्रेडरहरुले सेयर किनेपछि भने एक पटक हल्ला चलाउँछन् ।
२ वर्षपछि बजार कहाँ पुग्ला ?
ठ्याक्कै कहाँ पुग्छ भन्न त मुस्किल पर्छ । पहिलेको इण्डेक्सभन्दा केही माथि हुन्छ । पहिलेको इण्डेक्स भनेको ३२ सय हो । त्यसको डबल भयो भने ६४ सय पुग्छ । त्यसो भएन भने पनि बजार ४/५ हजारको हाराहारीमा इण्डेक्स पुग्नेछ । लगानीकर्ताको संख्या बढेको छ, सेयर सचेतना बढेको छ । नयाँ-नयाँ कम्पनी पनि आउँदैछन् । अर्थतन्त्रमा पनि सुधार हुँदैछ । त्यसले गर्दा अबको २ वर्षपछि बजार कम्तीमा पनि ४/५ हजारको हाराहारीमा पुग्नेछ ।
सेयर बजारमा ५४/५५ लाख मान्छेलाई ल्याउनुपर्ने हो ?
दोस्राे बजारको जोखिमपूर्ण एउटा पक्षमा हामी ध्यान दिएकै छैनौं । कुनै पनि बेला कुनै पनि कम्पनी लिक्वीडेसनमा जान सक्छ । यसमा हाम्रो ध्यानै छैन । बजारमा उच्च जोखिम पनि छ । न्यूनतम आवश्यकता पनि पूरा गर्न नसक्ने मान्छेहरुलाई सबै कुरा छाडेर पुँजी बजारमा लगानी गर भन्नु घातक हुन सक्छ ।
सबै नागरिकलाई बजार ल्याएर भोलि ओभर क्राउडेड भयो भने त्यसले धितोपत्र बजारलाई नोक्सानी गर्छ । त्यसकारण यहाँ प्रोफेसन, स्किलफुल, बजारलाई बुझ्न सक्ने, जोखिम बोक्न सक्ने मान्छेहरु आउने हो । अथवा राम्रा कम्पनीहरु सूचीकृत बनाएर बजारमा आउने हो । यहाँ त हामी खाली सेयर किन्ने ठाउँका रुपमा मात्रै यसलाई चित्रित गरिरहेका छौं ।
प्रतिक्रिया दिनुहोस्