चौतारा । वर्षौँंदेखि पुल अभावले आवतजावतमा समस्या भोगिरहेका सिन्धुपाल्चोकको दुर्गम क्षेत्रका बासिन्दाको झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । जिल्लाको दुर्गम गाउँबस्ती जोड्न पछिल्लो समय एक दर्जन झोलुङ्गे पुल निर्माण गरिएको छ । इन्द्रावती गाउँपालिका–१ भिरखर्क र चौतारा साँगाचोकगढी नगरपालिका–१ को स्याउले स्थित कातर्चे गाउँ जोड्न झोलुङ्गे पुल निर्माण भएपछि उनीहरूको यात्रा अवधि छोटिएको हो । गाउँपालिकाको आर्थिक सहयोग एवं हेल्भेटास र सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको प्राविधिक एवं सामाजिक सहजीकरणमा उक्त पुल निर्माण गरिएको गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिए।
उनका अनुसार ४९ मिटर लामो उक्त पुल ३२ लाख ४० हजार छ सय ४१ मा निर्माण भएको हो । यसैगरी बाह्रबिसे नगरपालिका–९, राम्चेको चुल्ठी र घुँडे जोड्ने तीन सय ४९ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ । नगर प्रमुख बालकृष्ण बस्नेतका अनुसार उक्त झोलुङ्गे पुल निर्माणबाट हिमाली क्षेत्रका बासिन्दालाई आवतजावतमा सहज भएको छ । उनले नगरपालिकाका नौवटै वडामा झोलुङ्गे पुल निर्माण गरिने जानकारी दिए।
त्यस्तै सुनकोशी गाउँपालिका–२, तित्रेबाट काभे्रको भुल्मु गाउँपालिका–२ जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । रु एक करोड ५० लाखको लागतमा निर्माण भएको उक्त पुल तीन सय १० मिटर लामो रहेको रहेको वडा नं–२का वडाध्यक्ष विष्णु महतले जानकारी दिए।
उनका अनुसार पुल निर्माणले घण्टौँ लगाएर आउजाउ गर्नुपर्ने यात्रा १० मिनेटमै छोटिएको छ ।
हेलम्बु गाउँपालिका–१ स्थित ङिमादावा पाङ्गणमा निर्माण भएको एक सय ७३ मिटर उचाइ र तीन सय ७० मिटर लम्बाइको झोलुङ्गे पुलले पाङगाङमा र धवागाङ गाउँलाई जोड्छ । पुल तयार भएसँगै एक गाउँबाट अर्को गाउँ पुग्न अहिले खर्चिर्दैँ आएको झण्डै पाँच घण्टाको समय एकै घण्टामा पार गर्न सकिने गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए।
सडकको विकाससँगै खोला र नदीमा पक्की पुल बन्न थालेपछि जिल्लाका एक दर्जन झोलुङ्गे पुल भने ओझेलमा परेका छन् । पक्की पुल बनेपछि मान्छे झोलुङ्गे पुलमा हिँड्न छाड्ने र त्यसको संरक्षण पनि नगर्ने भएकाले पुलको भग्नावशेष मात्र बाँकी रहेको मेलम्चीका गणेश दुलालले बताए। त्यस्ता पुल कुनै समय मानिसका लागि यातायात र सञ्चार क्षेत्रमा बरदान सावित भएका थिए । अहिले यातायात र सञ्चारको सुविधासँगै झोलुङ्गे पुलको महत्व घटेको उनको भनाइ थियो।
पहिला जिल्लाको पश्चिमी क्षेत्रका अधिकांश जनता हिँड्डुल गर्ने सिन्धुखोलाको झोलुङ्गे पुलको अहिले भग्नावशेष मात्र बाँकी छ । मेलम्चीमा मोटरबाटो निर्माणका साथै पक्की पुल बनेपछि यसबाट मान्छे हिँँड्न छाडेको र त्यसको संरक्षण पनि नगरिएकाले सो पुल काम नलाग्ने अवस्थामा पुगेको स्थानीयवासी पुरुषोत्तम घोरासैनीले बताउनुभयो । तालामाराङ, खाल्डेखोला, शिखरपुरको सहरेखोलालगायत यस क्षेत्रका एक दर्जन जति पुल सडकको विस्तारसँगै उपयोगविहीन बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्