काठमाडौं। डिएभी विद्यालय जावलाखेल ललितपुरमा भरतनाट्यम विशेष शास्त्रीय साँझ शुक्रबार सम्पन्न भएको छ । बलिउडकी चर्चित अभिनेत्री मनीषा कोइरालाको आतिथ्यतामा आयोजना भएको उक्त कार्यक्रममा डिएभी विद्यालयका प्राथमिक, निम्न माध्यमिक, र माध्यमिक तहका विद्यार्थीहरुले बिभिन्न प्रकारका भरतनाट्यम नृत्य प्रस्तुत गरेका थिए । साथै भारतीय चर्चित कलाकारद्वय सौन्दर्या पानापिल र सशी रमेशले बेजोड प्रस्तुति दिएका थिए ।
डिएभी विद्यालयका प्राथमिक तहका विद्यार्थीहरुले ‘पुष्पाञ्जली’ भरतनाट्यम प्रस्तुत गरे भने निम्न माध्यमिक विद्यालय र माध्यामिक तहका विद्यार्थीहरुले व्रmमशः ‘अलरीप्पु’ र ‘मल्लारी’ नृत्य प्रस्तुत गरे । भरतनाट्यम प्रशिक्षकद्वय अनु लामा र बिनिता मण्डल पनि विद्यार्थीहरुसँगै प्रस्तुत भएका थिए ।
कार्यक्रममा ‘गजवन्दना करुना साधना’, ‘पग घुँगरु बन्ध मिरा’ र ‘तीलना धनश्री’ नृत्यसमेत प्रस्तुत गरिएका थिए । उक्त साँस्कृतिक साँझ सुशीला आर्ट्स एकेडेमी काठमाडौं, स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र काठमाण्डौँ र डिएभी विद्यालयले संयुक्त रूपमा आयोजना गरेका हुन्। सुशीला आर्टस् एकेडेमिकी संस्थापक युलिया कोइरालाले स्वागत मन्तव्य दिँदै शास्त्रीय शिक्षाको महत्व र विद्यार्थीहरूको सर्वाङ्गीण विकासको अन्तरसम्बन्ध बारेमा आफ्नो धारणा राखेकी थिइन् ।
त्यसैगरी स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका निर्देशक डा.आश्वारी बापतले भरतनाट्यम साहित्य र संस्कृतिको एक अनुपम विधा रहेको चर्चा गर्दै सुशीला आर्टस एकेडेमी र डिएभी विद्यालयले संयुक्त प्रशिक्षण सञ्चालन गरिरहेको सुन्दा आफू निकै हर्षित भएको बताइन् ।
उनले सम्पूर्ण विद्यार्थीहरुलाई भरतनाट्यम विधा लगायत आआफ्नो रुचि अनुसारको अन्य साहित्यको अध्ययन, अनुसन्धान र सृजनामा क्रियाशील रहन प्रेरितसमेत गरिन् । उनले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेका विभिन्न कार्यक्रमहरुको जानकारी समेत गराइन् । कार्यक्रमकी मुख्य अतिथि अभिनेत्री मनीषा कोइरालाले उनलाई बाल्यकालमा भरतनाट्यम र मणिपुरे नृत्य सिकाएकी स्व. सुशीला कोइरालाको स्मरण गर्दै भावुक बनिन् ।
उनले स–साना बालबालिकाहरुको प्रस्तुतिको मुक्त कण्ठले प्रशंसा गरिन् । साथै सुशीला आर्ट्स एकेडेमी, डिएभी विद्यालय र स्वामी विवेकानन्द सास्कृतिक केन्द्रलाई सफलताको शुभकामना दिइन् । उक्त कार्यक्रममा डिएभी विद्यालयका अध्यक्ष, अनिल केडिया, भाइस–प्रिन्सिपल रामचन्द्र खनाल, विनोद यादव प्रिन्सिपल माछापुच्र्छे आइबी स्कुल, मुकुन्द शर्मा प्रिन्सिपल लिटिल एन्जल्स स्कुल, एपी विनोदकुमार प्रिन्सिपल केन्द्रीय विद्यालय र सुबास न्यौपाने प्रिन्सिपल एपेक्स लाइफ स्कुललगायत भरतनाट्यम साहित्य अनुरागीहरुको उल्लेख्य उपस्थित थियो । सोही अवसरमा बिजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्