Shikhar Insurance
National Life

बेनी-जोमसोम सडक चार दिन बन्द हुने

सिंहदरबार संवाददाता
२०७७ चैत्र १०, मंगलवार ०९:४७
Hyundai
NCELL
NIMB

म्याग्दी । जिल्लाको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक चार दिनका लागि बन्द गरिने भएको छ । उत्तर/दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडक २०७७ चैत १४ देखि १७ गतेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले सोमबार एक सूचना जारी गरेर सडक स्तरोन्नति र निर्माणका लागि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बेनी-जोमसोम सडकमा चार दिन सवारी साधन आवतजावत रोकिने जानकारी गराएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिर सडक स्तरोन्नति र मुस्ताङको थासाङ गाउँपालिका-४ को कैकुखोलामा सडक बेस बगाउने तथा पहिरोका कारण सवारी साधन चल्न नसक्ने र चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रशासनले जनाएको छ ।

कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम ७६ किमी सडक चार प्याकेजमा स्तरोन्नति भइरहेको छ । प्याकेज-२ को काभ्रेभिरमा पुस १९ गतेदेखि सडक चौडा गर्न शर्मा-गजुरमुखी जेभीले पहाड काट्ने काम गरिरहेको छ । त्यहाँ एक किलोमिटर ६०० मिटर दूरीमा पहाड काट्नुपर्ने जनाइएको छ ।

काभ्रेभिर बेनी-जोमसोम सडकको जोखिमयुक्त सडक पनि हो । निर्माण कम्पनीले नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गरिरहेको छ । यस्तै सोही खण्डको थासाङ-४ कैकुमा पटक-पटक बाढीले सडक बगाउने र पहिरो जाने हुँदा सडक अवरुद्ध हुने गर्छ । सडक स्तरोन्नति गरी सडक सहज बनाउन जिल्ला सडक सुरक्षा समितिले यसप्रकारको निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

झण्डै ६ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक आयोजना विसं २०७४ देखि निर्माण शुरु भएको हो । एक सय १० किलोमिटर दूरीको जोमसोम-कोरला सडक ग्राभेल गर्ने काम भइरहेको छ । आयोजनाका अनुसार जोमसोम-कोरला सडकको सात प्याकेजमध्ये चार प्याकेजको काम सकिएको छ । बेनी-जोमसोम सडकमा ६० प्रतिशत र जोमसोम-कोरला सडकमा ८५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इञ्जिनीयर अश्विनीकुमार यादवले जानकारी गराए । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्