काठमाडौं । कञ्चनपुरबाट उत्तर दार्चुला हुँदै चीनसित जोड्ने नाकाका रुपमा विकास गर्न विस्तार थालिएको महाकाली करिडोरको ‘जिरो प्वाइन्ट’ (ब्रह्मदेव क्षेत्र) को झण्डै बाह्र वर्षपछि वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएको छ ।
विसं २०६५ देखि शुरु भएको महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाकाको शुरुआत विन्दुमा अझै काम अघि बढ्न सकेको थिएन । महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाकाका इञ्जिनीयर राजकिशोर सिंहले योजनाको शुरुआत बिन्दु ब्रह्मदेव क्षेत्रको रुख कटानको काम ‘इआइए’ नहुँदा लामो समयदेखि रोकिएको बताए । “ईआइए स्वीकृत भएसँगै अब कामको ठेक्का प्रक्रिया नियमित गर्ने बाटो खुलेको छ”, इञ्जिनीयर सिंहले भने, “अब बोलपत्र आह्वान गरेर चाँडै काम अगाडि बढ्छ ।”
कूल ४२५ किलोमिटर लम्बाइ भएको करिडोरअन्तर्गत ब्रह्मदेवदेखि जोगबुडासम्म ११ किलोमिटर क्षेत्र पर्छ । त्यहाँ पर्ने रुख कटान गरी योजनाको काम अघि बढाउन आइतबार मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ । कञ्चनपुरको ब्रम्हदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुला र त्यसपछि चीनको ताक्लाकोट जोड्ने सडकअन्तर्गत बैतडी, दार्चुलाको हिकिला र सुन्सेरा क्षेत्रमा काम भइरहेको सिंहको भनाइ छ । ब्रह्मदेवदेखि दार्चुलाको तिंकरसम्म सडक निर्माणका लागि चालू आवमा रु ३२ करोड बजेट विनियोजन गरिएको छ ।
नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर सडक निर्माण योजनाको अवधारणा अगाडि सारिएको भए पनि करिडोरअन्तर्गत डडेल्धुरा, बैतडी र दार्चुला क्षेत्रमा पनि निर्माणको गति भने सुस्त छ ।
तीन वर्षअघि महाकाली करिडोरअन्तर्गत चार जिल्लामा ट्रयाक खोल्न रु ५२ करोडमा ठेक्का सम्झौता भएको थियो । करिडोरअन्तर्गत डडेल्धुरामा ११ किलोमिटर, बैतडीमा ५७ किलोमिटर र दार्चुलामा कूल ६७ किलोमिटर सडक खण्डको ट्रयाक खुलेको छ ।
दार्चुला तिंकर सडकखण्डको कूल १३४ किलोमिटरमध्ये ठेक्का नलागेको ८७ किलोमिटर व्यास गाउँपालिका–२ कोठेधारदेखि तिंकरसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । योजना कार्यालयका इञ्जिनीयर सिंहले सेनाले पनि ट्रयाक खुलाउन जनशक्ति व्यवस्थापनलगायत तयारी गरिरहेको बताए । “सेनाले पनि निर्माणस्थलमा कामको तयारी गर्न व्यवस्थापनमा जुटिरहेको देखिन्छ”, उनले भने, “करिडोरका लागि सैनिक जनशक्ति दार्चुला आइसकेको छ ।” रासस
प्रतिक्रिया दिनुहोस्