लुम्बिनी । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाहलाई सहज र सरल बनाउन ‘एआई च्याटबट’ सेवा सञ्चालनमा ल्याएको छ ।
बुटवल उपमहानगरपालिकाबाट प्रदान हुने सेवा, सुविधा र अन्य जानकारीलाई ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सँग जोडेर उपमहानगरपालिकाले ‘च्याटबट’ सेवा सञ्चालनमा ल्याएको हो ।
बुटवल नामको च्याटबटको आज बुटवल नगरप्रमुख खेलराज पाण्डेयले ‘नमस्कार, जन्मदर्ता गर्न के गर्नुपर्छ ?’ भन्ने प्रश्न च्याटबटसँग सोधेर शुभारम्भ गरे।
त्यस अवसरमा प्रमुख पाण्डेयले उपमहानगरपालिकाका हरेक सेवा र सूचनामा आम जनताको पहुँचलाई सहज र सरल बनाउनका लागि सेवा सञ्चालनमा ल्याइएको बताए। उनले नगरप्रमुखदेखि वडाध्यक्षसम्मका जनप्रतिनिधिको जानकारी, सम्पर्क, दैनिक गतिविधि, योजना कार्यान्वयनको अवस्था, नगरमा के काम भइरहेको छ, कहिले सकिन्छ, कुन कुन काम कसरी हुन्छन् भन्ने जस्ता जानकारी र जनताका गुनासो र सम्बोधनको समन्वयको भूमिका निर्वाह गर्ने गरी च्याटबटलाई सुधार गर्दै लैजाने बताए ।
नगरप्रमुख पाण्डेयले नगरलाई अग्रणी सहरका रूपमा स्थापित गर्नका लागि सूचना, प्रविधिको अधिकतम उपयोग गर्न नगरवासीलाई प्रेरित गर्ने र सूचना र सञ्चारमाध्यमबाट अधिकतम लाभ हासिल गर्न सकिने गरी उद्यमसँग जोड्ने गरी काम गरिरहेको बताए।
कार्यक्रममा च्याटबटको उपयोगिताबारे जानकारी दिँदै युएनडिपीका प्रदेश प्रमुख सुदीप अर्यालले देशमै पहिलोपटक स्थानीय सरकारले सामाजिक सञ्जालमा आधारित च्याटबट सञ्चालनमा ल्याएको र यसले देशभर नयाँ सन्देश दिने बताए। उनले सूचना र सञ्चारको उपयोगबाट सरकारी सेवालाई सहज र सरल बनाउने काममा बुटवलले अगुवाइ सुरु गरेको र यसले जनतालाई लाभ पुग्ने बताए।
एआई च्याटबट बुटवल उपमहानगरपालिकाको नेपाली र अङ्ग्रेजीमा ‘बुटवल उपमहानगरपालिका’ नामको फेसबुक पेजबाट सेवाबारे जानकारी लिन सकिने उपमहानगरपालिकाका सूचना प्रविधि शाखाका प्रमुख रोशन रेग्मीले बताए।
एआई च्याटबटबाट अहिले नागरिक बडापत्रबारे जानकारीमूलक विषय राखिएको र आगामी दिनमा थप सेवा र सुविधाबारे जानकारीहरू थप गर्दै जाने उनले बताए।
प्रतिक्रिया दिनुहोस्