लुम्बिनी । लुम्बिनी प्रदेशमा पछिल्लो पाँच वर्षमा आठ सय ११ किलोमिटर सडक कालोपत्र गरिएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार आर्थिक वर्ष २०७५/७६ देखि चालु वर्षसम्म सो परिमाणमा सडक कालोपत्र भएको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको सर्वेक्षणअनुसार एक हजार ६८ किलोमिटर सडक ग्राभेल र १ हजार ९ सय ६४ किलोमिटर सडक कच्ची छ । प्रदेश सरकारले सडक सुरक्षालाई प्राथमिकतामा राखी सडक निर्माण, मर्मत र स्तरोन्नतिको काम अघि बढाएको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताए । उनका अनुसार कृषि सडक, पर्यटनस्थल एवं उद्योगस्थल पहुँच मार्ग, सीमा क्षेत्र सडक कार्यक्रम, प्रदेश गौरबका सडक तथा प्रदेशका प्रमुख राजमार्ग निर्माण एवं स्तरोन्नतिबाट ग्रामीण–सहरी आवद्धता र कृषि उत्पादन तथा बजारीकरणमा टेवा पुगेको छ ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्ला सदरमुकाम पक्की सडक सञ्जालले जोडिएका मन्त्री मास्कीले बताउनुभयो । लुम्बिनीमा हालसम्म कच्ची, ग्राभेल र कालोपत्र गरी नौ हजार पाँच सय ९४ किलोमिटर सडक छ ।
८९ मोटरेवल पुल
लुम्बिनीमा पछिल्लो वर्षमा ८९ मोटरेवल पुल निर्माण भएका छन् । त्यस्तै प्रदेश भरि २६ झोलुंगे पुल निर्माण भएका छन् । चालु आवमा मात्रै १७ मोटरेवल पुल र तीन झोलुंगे पुल निर्माण भएका छन् । लुम्बिनीमा चालु आवमा दुई सय ४८ मेगावाट विद्युत् उत्पादन भएको छ । प्रदेशमा तीन हजार मेगावाट विद्युत् उत्पादनको क्षमता रहेको मन्त्री मास्कीले बताए।
त्यस्तै लुम्बिनीमा ९८.३२ प्रतिशत जनसङ्ख्या विद्युतको पहुँचमा पुगिसकेका छन् । रोल्पा र रुकुम पूर्व सबैभन्दा कम विद्युतीकरण भएका जिल्ला हुन् । लुम्बिनीमा परम्परागत ऊर्जाको प्रयोग गर्ने जनसङ्ख्या ५६.४ प्रतिशत रहेको छ, भने अन्य वैकल्पिक स्रोत प्रयोग गर्ने ४३.६ प्रतिशत छन् ।
प्रतिक्रिया दिनुहोस्